प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक पूर्वाग्रह भन्दामाथि पीडितको सेवामा समर्पित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।सोमबार एक विज्ञप्ति जारी गरी सभापति देउवा सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर बाढी –पहिरो प्रभावितको सेवामा समर्पित हुनु निर्देशन दिएका हुन् ।
‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पिडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।
प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय गरिएको उनले जनाए ।‘म नेपाली काँग्रेस पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन अपिल गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ भनेर काँग्रेसले अनुगमन समेत उनले जानकारी गराए ।साथै उनले वर्षा र पहिरोका कारण ज्यान गुमाएका नागरिकको परिवारजनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
साउन ७ गतेसम्म बैठक स्थगित गरी कांग्रेस बाढीपहिरो पीडितको उद्दारमा जुट्यो, नियमावली पारित
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रथम दिन यही असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली काङ्ग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेका थिए ।
बैठकले मुलुकको विभिन्न भागमा केही दिन यता अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णयसमेत गरेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, सुजाता कोइराला, उमाकान्त चौधरी, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, शिवप्रसाद हुमागाईं, केन्द्रीय आमन्त्रित सदस्यहरु किरणराज शर्मा पौडेल र रमा कोइराला पौडेलले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
उद्धार र राहतको अभियानमा सहभागितापश्चात् केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ७ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।
सरकार विरुद्ध आलोचनाको डरले १० दिनसम्म संसद स्थगित, बाढी प्रभावितमाथि ठूलो धोका
प्रतिनिधि सभाको बैंठक १० दिनको लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजेको लागि बोलाईएको बैठक तोकिएको समय भन्दा २ घण्टा पछि सूचना जारी गर्दै स्थगित गरिएको हो । संसदका महासचिव मनोहरप्रसाद भट्टराईले हस्ताक्षर गरेको सो सूचना अनुसार साउन ८ गते मात्रै संसद बैठक बस्नेछ । यसको कारण अविरल वर्षाका कारण सबै जना सांसदहरु जिल्ला जानु पर्ने भएकोले त्यसैको लागि भनिएको छ ।
यसरी अविरल वर्षाका कारण देशको तराई भूभाग डुबानमा परेको बेलामा संसदमा बसेर यसको समाधानबारे छलफल गर्ने र सरकारको कमिकमजोरीलाई झक्झक्याउने अवसर दिनुपर्नेमा १० दिनको लागि संसद स्थगित गराउनुले सभामुख कृष्णबहादुर महरा फेरि पनि विवादमा आएका छन् । उनको यो कदमलाई नेकपाका सांसदहरुले नै ठूलो धोका मानेका छन् । सरकारले केही पनि गर्न नसकेको बेलामा उल्टै बाढी प्रभावितको लागि केही गर्न झक्झक्याउने संसदलाई नै चल्न नदिनु सभामुखको कायरता रहेको नेकपा सांसदहरुको आरोप छ ।
यसरी संसद स्थगित गरिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक स्थगनपछि पत्रकारहरुसँगको कुराकानीको क्रममा सरकारले बदमासी गरेको आरोप लगाए । उनले बाढीपहिरो पीडितलाई राहतबारे संसदमा छलफल गर्न नचाहेर सरकारले बदमासी गरेको आरोप लगाएका हुन्। यसरी विपद्को बेलामा संसदमा गहन छलफल गर्नुपर्नेमा संसद नै स्थगन गर्ने कुरा संसारमा काहीँकतैपनि नहुने उनको दाबी थियो ।
नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखेका थिए । सरकारले आलोचनाको शिकार बन्नुपर्ने भएपछि स्थगित गरेको यो संसदलाई सत्तारुढ नेताहरुले नै आलोचना गरेका छन् । नेकपा नेता माधवकुमार नेपालले राहत र उद्धारका लागि पर्याप्त छलफल जरुरी भएका बेला संसद स्थगित गरिएकोमा आश्चर्य प्रकट गरे। उनले सरकार राहत र उद्दारमा जुटेकोले संसद नै स्थगित गरिएको हुनसक्ने भन्दै सरकारमाथि व्यङ्ग्य प्रहार गरे ।




















प्रतिक्रिया