प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहिबार सम्पन्न भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न एजेण्डाको दोस्रो बुँदामा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था गठनपछि १४ औँ महाधिवेशनको कार्य तालिकाबारे छलफल केन्द्रीत रहेको पार्टीको मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु— महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा.चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्य समितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।
बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले सहमतिमा अघि बढ्नु पर्ने धारणा राखेका थिए । अर्को पक्षले भने चुनावमा जानु पर्ने अडान राखेका थिए ।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।
आजको बैठकमा एजेण्डाको दोस्रो वुँदा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा छलफल केन्द्रीत रहेको थियो । बैठकमा केन्द्रीय सदस्यहरु— महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७६ श्रावण १० गते शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।
समवेदना
पाँचथर जिल्ला नेपाली कांग्रेस फिदिम नगर कार्यसमितिका सभापति एवं सोही नगरपालिका वडा नं. १ का निर्वाचित वडा अध्यक्ष हर्कबहादुर मोक्तान, मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १ इकाई सचिव एवं नेपाल भूतपूर्व सैनिक संघ जिल्ला उपाध्यक्ष ५९ वर्षीय बोमबहादुर राउत र बाजुरा जिल्ला साविक छतारा गाउँ कार्यसमितिका सभापति वर्ष ३८ का महारुद्र न्यौपानेको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।
उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा पुर्याउनु भएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, उहाँहरुका सबै शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
निर्मला पन्त प्रकरणको एकवर्षमा : नेपाली कांग्रेसको ७ वुँदे विज्ञप्ति
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज साउन ९ गते एकवर्ष पुरा भएको छ । यो घडी उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेस निर्मलाका मातापिता लगायत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
एकवर्षका बीचमा दोषीको पहिचान हुन नसक्नु दुःखद त छ नै, यस्तो प्रकृतिको घटना झनै बढेर जानु अझ दुःखद छ । प्रमुख प्रतिपक्षी दलका रुपमा नेपाली कांग्रेसले यो र यस्ता घटना बारे संसद, मिडिया र सार्वजनिक कार्यक्रम लगायत विविध माध्यमबाट निरन्तर आवाज उठाउँदै आएको छ । निर्मला प्रकरण एकवर्ष पुगिरहँदा नेपाली कांग्रेस यस सम्बन्धमा श्रृखंलावद्ध ढंगले भएको सरकारी कृयाकलापको वास्तविक दृश्य चित्र राख्दै सरकारलाई ऐना देखाउन चाहन्छ ।
१. दोषी जोगाउने प्रपन्च
निर्मला पन्तको शव भेटिएको स्थलमा रहेका तथ्यहरु सुरक्षित ढंगले संकलन गरिनु पर्नेमा प्रमाण नष्ट गर्ने ढंगले कपडा लगायत धोइनु दोषी जोगाउने प्रपन्चको खुलेआम प्रस्तुति नभई के थियो भन्ने जवाफ आजसम्म प्राप्त छैन ।
२. निर्दोषलाई दोषी ठहर्याउने प्रयत्न
घटनाको केही दिनपछि दोषीका रुपमा सार्वजनिक गरिएका दिलिपसिं विष्ट मानसिक सन्तुलन गुमाएको नागरिक रहेका सत्य खुल्यो । केही महिनापछि सरकारको ठम्याइएका दोषी १८ वर्षे विशाल चौधरी घटना भन्दा दुईदिन अघि कुखुरा चोरीको अभियोगमा कञ्चनपुर हिरासतमै रहेको तथ्य खुल्यो ।
३. जनप्रदर्शनमा मारिए बालक
दोषीमाथि कार्वाहीको माग गर्दै कञ्चनपुरमा भएको जनप्रर्दशनलाई संयमतापूर्वक विश्वासमा लिनु भन्दा सरकारले दमनको नीति अख्तियार ग¥यो । प्रहरीको गोली लागेर कलिला बालक सनि खुना मारिए । दर्जनौ घाइते भए ।
४. गैह्र जिम्मेवार अभिव्यक्तिहरू
यो प्रकरणमा सरकार एक्सनमा कम भाषणमा बढी भेटियो । स्वयं प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्ति टेलिभिजन अन्तरवार्ता मार्फत आयो भने वर्षदिन पुग्नै लाग्दा गृहमन्त्रीको जिम्मेवार ओहोदाबाट गैह्र जिम्मेवार विचार प्रस्तुत भयो ‘यस्तो विगतमा पनि भयो, आज पनि भइरहेको छ र भविष्यमा पनि हुनेछ’ ।
नेपाली कांग्रेस प्रश्न गर्न चाहन्छ संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट न आपत्तिजनक छ नै, जिम्मेवार राज्यको अभिमत के यस्तो हुन मिल्छ ?
५. प्रहरीलाई बदनाम गराउने षडयन्त्र
अपराध अनुसन्धानको दक्षताका दृष्टिले दक्षिण एशियामा अग्रपंक्तिमा नाम आउने नेपाल प्रहरी यो प्रकरणमा असफल भएको हो या सरकारको नियतवश सफल हुन नदिइएको हो ? यो गम्भीर प्रश्न वर्षदिन पुगिरहँदा हामी यसकारण उठाइरहेका छौं किनकि यो प्रकरणमा सरकारले प्रस्तुत गरेको व्यवहार प्रहरीलाई सफल बन्न दिनेतर्फ कम घटनाको ढाकछोप गर्ने नियततर्फ विशेष सर्तकता देखियो ।
६. सरकार असफल
अन्ततः एक वर्षको संक्षिप्त निष्कर्ष हो सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल भएको छ र यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्न समेत असफल भएको छ ।
७. गम्भीर वहसको खाँचो निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पुरा
हुन्न । निर्मला प्रकरण वर्षदिन पुगिरहँदा नेपाली कांग्रेस यस्तो जघन्य अपराधका पछिल्तिरको सामाजिक मनोविज्ञान, प्रशासनिक कमजोरी, कानूनी सचेतताको व्यापकता, राज्यको गहन जिम्मेवारी, राजनैतिक दलहरुको साझा कर्तव्य र संचार माध्यम लगायत सिंगो समाजको भूमिका एवं दायित्व बारे विशेष बहषको आवश्यकता औल्याउन चाहन्छ ।
निर्मला पन्तको आत्मालाई शान्तिको कामना यही इमानदार प्रयत्नबाट मात्रै हुन सक्दछ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
कांग्रेस बैठकमा देउवा–पौडेल जुहारी, कांग्रेसको आम्दानीभन्दा खर्च झन्डै दुई करोड बढी
कांग्रेसको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथिको छलफलमा शीर्ष नेताहरू नै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच चुनावी हारका विषयमा भनाभन नै चल्यो ।
नेतृत्वले राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा चुनावी पराजय स्विकारेर नयाँ कार्यक्रम नल्याएको भन्दै पौडेल र उनी पक्षधर नेताहरूले आपत्ति जनाएपछि देउवाले प्रतिवाद गरे । ‘चुनाव जित्न नसक्नेले नै चुनावी हारबारे टिप्पणी गरेको सुहाउँदैन’ भन्दै उनले रामचन्द्र पौडेलको आलोचना गरे ।
पौडेल पक्षधर गगन थापा, प्रदीप पौडेल र कल्याण गुरुङले पनि प्रतिवेदनमा नेतृत्वले चुनावी परिणाम कमजोर भएको विषय नसमेटेकोमा आपत्ति जनाए । बैठकले राजनीतिक र विधानबाहेक सांगठनिक प्रतिवेदन र आर्थिक प्रस्ताव पारित गरेको छ । राजनीतिक प्रस्ताव र विधानबारे थप छलफल गर्न शुक्रबार बैठक डाकिएको छ । राजनीतिक प्रस्तावमा कमजोरी नै नकेलाइएको भन्दै नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि शुक्रबार थप छलफल गरेर मात्र प्रस्ताव पारित गर्ने सोचमा सभापति शेरबहादुर देउवा पुगेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कसले के भने ?
कमजोरी केलाए मात्रै पार्टी बलियो : गगन थापा
पार्टीबाट महासमितिमा प्रस्तुत हुने प्रतिवेदनले कांग्रेस नेतृत्वमा संविधान जारी भएको, निर्वाचन गराएको भनेर उल्लेख ग(यो । हाम्रै नेताले गराएको निर्वाचनमा पार्टी पराजय कसरी भयो भन्नेबारेमा बोल्दै बोलेन । हाम्रो राजनीतिक प्रस्तावले निर्वाचन नै चिनेन । एमाले र माओवादीबीचको गठबन्धनका कारण हामी निर्वाचन हार्न पुग्यौँ भन्दै छौँ । तर, यो गठबन्धनभन्दा अगाडि नै हामी स्थानीय तहको निर्वाचनमा पराजय भएको विषय प्रस्तावमा आएनन् ।
राजनीतिक प्रस्तावमा पार्टी संगठन प्रभावकारी नभएको, प्रतिपक्षीय भूमिका कमजोर रहेको कुरा कहीँ गरिएको छैन । संघीय संसद् र प्रदेशको निर्वाचनमा धेरै ठाउँमा हारे पनि स्थानीय तहमा हामी दुई सयभन्दा बढी ठाउँमा जितेका छौँ । हामीले जितेका ठाउँमा के गरिरहेका छौँ, के गर्ने तयारी छ भनेर पनि उल्लेख गरेका छैनौँ ।
अधिवेशन नभएको भ्रातृ संस्थाको उस्तै दुरावस्थाबारे हामी केही बोल्दैनौँ । भएका कमजोरीलाई स्विकारौँ, ढाकछोप नगरौँ भन्ने हाम्रो भनाइ हो । कमजोरीलाई लुकाएर होइन, स्विकार्दै संगठनमा सुधार गरे मात्रै पार्टी बलियो बन्छ ।
राजनीतिक प्रतिवेदनमा संगठनको चित्र आएन : प्रदीप पौडेल
सांगठनिक प्रस्तावमा संगठनको चित्र आएन । अर्को महासमिति बैठकसम्मको योजना पनि आएन । कुनै पनि प्रस्तावले कांग्रेसको अवस्था बुझाएनन् । केन्द्रीय समितिले निर्वाचन पराजयको सामूहिक निर्वाचनको जिम्मा लिने भन्यो । तर, अहिले दुई कम्युनिस्ट पार्टी मिलेकाले हामी हा(यौँ भनेर पहिले स्वीकारेका आन्तरिक कमजोरीलाई पनि लुकाउने काम भयो ।
कम्युनिस्ट पार्टीले सरकार चलाएको १० महिनापछि प्रस्ताव आउँदा पनि सरकारका विकृति केलाउन सकिएन । कार्यकर्ताले पढ्दा तागत भरिने गरी आउनुपर्ने राजनीतिक प्रस्ताव साह्रै फितलो भयो । संविधान जारी गरेको श्रेय लिन खोज्ने तर, संविधानको मूलभूत विषयमा प्रश्न उठाउने अवस्था बन्यो । धर्मको विषय अहिले उठाइएको छ । यसलाई विवादित नबनाईकन छलफलबाट टुंग्याउनुपर्छ ।
चुनावमा टिकट बेचिएको बारेमा पनि बोलौँ : कल्याण गुरुङ
हामीले एकपछि अर्को गल्ती गर्दा गत निर्वाचनमा पराजय बेहोर्यौँ । निर्वाचनमा समानुपातिकको टिकट बेच्नेको बारेमा राजनीतिक प्रस्तावमा लेख्नुपथ्र्यो ।
कांग्रेसको आम्दानीभन्दा खर्च झन्डै दुई करोड बढी
कांग्रेसले आर्थिक वर्ष ०७४र७५ मा कुल आयको तुलनामा एक करोड ८४ लाख बढी खर्च गरेको छ । आम्दानी भने पाँच करोड पाँच लाख आम्दानी गरेको कांग्रेसले ६ करोड ९० लाख खर्च गरेको हो ।
आव ०७२र७३ मा पनि पार्टीको आम्दानीको तुलनामा दुई करोड ४८ लाख खर्च बढी भएको थियो । यस्तै, ०७३र७४ मा आम्दानीको तुलनामा दुई करोड बढी खर्च गरेको थियो ।
खर्च पारदर्शी र व्यवस्थित कोष सञ्चालन गर्न सुझाब
पार्टी सदस्य एवं शुभेच्छुकबाट आउने सदस्यता शुल्क, नवीकरण शुल्क, चन्दा एवं लेबी नै पार्टीको आर्थिक स्रोत भएको कांग्रेसले जनाएको छ । व्यावसायिक क्षेत्रबाट खर्चिला कार्यक्रममा मात्रै सहयोग प्राप्त हुने भएकाले नियमित पार्टी सञ्चालन आन्तरिक कोषबाटै गर्नुपर्ने पद्धति बसाल्न सुझाब दिइएको छ ।
क्रियाशील सदस्यता शुल्क, संघीय र प्रदेश सांसदबाट प्राप्त हुने लेबी नियमित र व्यवस्थित बनाउन सुझाब छ । यस्तै, कार्यकर्ता एवं पेसाकर्मीलगायतका शुभचिन्तकबाट प्राप्त रकम पारदर्शी रूपले खर्च गर्ने र व्यवस्थित रूपले अभिलेखीकरण गर्ने व्यवस्था पार्टीका सबै तहका आर्थिक कोषमा गर्न सुझाइएको छ । लेखापरीक्षण समितिका संयोजक श्याम घिमिरेले केन्द्रीय समितिमा यो प्रतिवेदन पेस गर्दै सुझाब दिएका हुन् ।
ऋण काढेर खर्च व्यवस्थापन
आम्दानीको तुलनामा खर्च बढी भएपछि कांग्रेसले ऋण काढेर आर्थिक व्यवस्थापन गर्ने गरेको जनाएको छ । पार्टीनिकट शुभेच्छुकहरूको सहयोगमा यस्तो खर्च जुटाएको जनाएको छ । ‘आम्दानीभन्दा खर्च बढी भएको चुनावले गर्दा हो ।
खर्च सापटीबाटै अहिले व्यवस्थापन गरेका छौँ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘अब झन्डै पाँच लाख सदस्यको नवीकरण शुल्कबाट एक सयका दरले पाँच करोड उठ्दा पार्टी नाफामा जान्छ । ऋण पनि तिरिन्छ ।’
बचत चार करोडभन्दा बढी
लेखापरीक्षणमा पार्टीको आम्दानीको तुलनामा खर्च बढी देखाइए पनि कांग्रेसँग ‘फिक्स्ड डिपोजिट’मा २ करोड २० लाख र अर्को एउटा छुट्टै बचत एक करोड ९० लाख रहेको लेखापरीक्षण समितिका संयोजक श्याम घिमिरेले बताए । पार्टी खर्च घाटा पूर्ति गर्ने गरी बचत भए पनि भैपरी आउने खर्चका लागि ‘फिक्स्ड डिपोजिट’ खाता सञ्चालन गरिएको उनले बताए ।




















प्रतिक्रिया