Logo

प्रमुख समाचार

सुनको भाउ बढ्ने क्रम जारी, तोलाको ७० हजार पुग्यो



सुनको भाउ बढ्ने क्रम जारी छ । नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको भाउले आज ७० हजार रुपैयाँको रेकर्ड कायम गरेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । साताको पहिलो दिन आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुन बिहिबारसम्म आइपुग्दा झन्डै ४ हजार रुपैयाँले वृद्धि भएको हो।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेर ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस अघि मंगलबार ६८ हजार रुपैयामा कारोबार भएको थियो । त्यस्तै आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एकैदिन १५ सयले बढेर ६७ हजार ८ रुपैयाँमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको जनाएको छ । मूल्य बढेसँगै सुनको बजारमा कारोवार निकै कम मात्रामा हुने गरेको व्यवसायीहरुले बताएका छन् । सुनको मूल्य बढेपछि सुन किन्ने भन्दा बेच्नेहरु बढी आएको व्यवसायीहरुले बताएका छन् । बजारमा सुनको माग ७५ प्रतिशतले घटेको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौंती गरेपछि सुनको मूल्य निरन्तर उकालो लागेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार ०६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।