Logo

राजनीति

सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति जुटेन, नेकपाको स्थायी कमिटी बैठक आज बस्दै



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (आइतबार) बस्दैछ। शनिबारको सचिवालय बैठकले आज अपरान्ह १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने निश्चित गरेको हो ।

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओलीका दुवै ‘प्रस्ताव’मा छलफल हुने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सचिवालय बैठकमा उक्त प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटी बैठक बस्न लागेको हो ।

यसअघि गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो । तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो । मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गर्नुभएको थियो । मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न  दिएका छन् ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार ०८:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।