सुरक्षा थ्रेट बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षाकर्मी तैनाथ भएका छन् । ठुलो संख्यामा सुरक्षाकर्मी पुगेर सर्च समेत गरेका छन् । हतियारसहित प्रहरीले कडा सुरक्षा दिएका छन् ।
नेपाली सेनाले तालिमप्राप्त कुकुरबाट सर्च गरेको छ । पछिल्लो समय नेकपाभित्र विवाद चुलिंदै जाँदा सुरक्षाकर्मी पार्टी कार्यालयमा बढाइएको छ ।
आज स्थायी कमिटी बैठक बस्नु अगावै नेकपा केन्द्रीय कार्यालय वरिपरि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि ठुलो संख्यामा खटिएका छन् । नेकपा पार्टी कार्यालय वरिपरि पछिल्लो समय सुरक्षा निगरानी समेत बढाइएको बुझिएको छ । यसलाई निकै गम्भीरताका साथ लिइएको छ ।
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने
नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । उनले हिजो बसेको सचिवालय बैठकमा स्थायी कमिटी नै काम छैन भनेका थिए । ओलीनिकट स्रोत अनुसार आज धुम्बाराहीमा बस्ने बैठकमा सहभागी हुनेछैनन् । उनलाई बैठकमा सहभागी गराउने पहल भइरहेको बुझिएको छ ।
स्थायी कमिटीमा ओली अल्पमतमा छन् । उनका विरुद्ध बैठकले निर्णय गर्न सक्ने भएकाले सहभागी हुन मानेका छैनन् । तर, सचिवालय बैठकमा ओली र प्रचण्डले पेश गरी छलफल भएको प्रतिवेदन स्थायी कमिटीमा छलफलका लागि लगिदैछ ।
चार घन्टा के भयो भन्दा नारायणकाजी नमस्ते गर्दै हिंडे
नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक आज पनि गर्मागर्मी बहसका साथ सकिएको छ । आजको बैठक झण्डै चार घन्टा चल्यो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि चर्को बहस चलेको बुझिएको छ ।
प्रतिवेदनमा दुई अध्यक्षले एक अर्काविरुद्ध आरोपसहितको लिखित विषय उल्लेख गरेका छन् । त्यसमाथि बहस हुँदा आज पनि बैठकमा आरोप प्रत्यारोप भएको बुझिएको छ ।
बैठकमा भोलि बस्ने स्थायी कमिटीमा दुवै प्रस्ताव पेश गरिने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, चार घन्टाको बैठकमा अरु के के भयो रु भनी प्रश्न गर्दा श्रेष्ठ नमस्कार गर्दै हिंडे । उनले पत्रकारको प्रश्नका खासै उत्तर दिन मानेनन् ।
बैठकमा आज पनि चर्काचर्की भएको बुझिएको छ । प्रधानमन्त्री ओली दुई अध्यक्षको अलग प्रस्तावबारे छलफल अगाडि बढाउन मानेका छैनन् । अध्यक्ष प्रचण्ड भने छलफलमा अगाडि बढाउनुपर्ने पक्षमा छन् । यसले नेकपाभित्र दुई अध्यक्षबीच टकराव बढाएको छ ।




















प्रतिक्रिया