नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन जरूरी भइसकेको बताएका छन् । पार्टीले प्राथमिकता र बिचार बदल्न जरुरी रहेको भन्दै उनले त्यसको लागि नेतृत्व परिवर्तन आवश्यक हुने बताए ।
बुटवलमा शनिबार पौडेलले भने, ‘कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न कांग्रेस संगठित हुनु जरूरी छ । कांग्रेस सुध्रनुपर्छ। कांग्रेसले नेतृत्व परिवर्तन गरी जनतामा आशा जगाउनुपर्छ ।’ उनले कांग्रेस सुधार गर्ने हो भने गुट र उपगुट हेर्न नहुने बताए ।
उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । ‘सरकार सच्याउने हो भने उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्नुपर्छ,’ उनले भने, ‘यो मध्यावधि निर्वाचनजस्तै हो । सरकारको कामको मूल्यांकन गरी हिसावकिताव गर्ने बेला यही हो ।’
उनले देशमा दिन प्रतिदिन अराजकता बढेको बताए । दुई तिहाइ सरकारले २२ महिने अवधिमा कुनै पनि नयाँ काम गर्न नसकेको उनको दाबी थियो । सरकारले कुशासनलाई बढाएको उनले आरोप लगाए । ‘सरकार अदालत, प्रहरी र प्रशासन लगाएर अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिराखेको छ,’ उनले भने ।






















प्रतिक्रिया