Logo

राजनीति

राष्ट्रपति-प्रधानमन्त्री दुवै नालायक भएकोले गणतन्त्र र व्यबस्थाको बदनाम भयो: नेता थापा



नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिदै गर्दा शीर्ष नेताहरुले महाधिवेशन केन्द्रित छलफल शुरु गरेका छन् । यसैबीच नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं नेता कृष्ण प्रसाद सिटौलाले पनि महाधिवेशनलाई केन्द्रित केन्द्रित गरि छलफल सुरु गरेका छन् ।

बिहिवार सिटौलाले आफ्नै निवासमा देशभरका कांग्रेस नेताकार्यकर्ता हरुको प्रतिनिधिमुलक भेला आयोजना गरेर छलफल सुरु गरेका हुन् । सिटौला निकट तेस्रो धार भनेर चिनिने कांग्रेस नेताहरु भिमशेन दास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाँई, गगन थापा, प्रदीप पौडेल, धना खतिवडा लगायतका नेता हरुको उपस्थिति रहेको थियो । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार उक्त भेलामा कांग्रेस महाधिवेशन तथा वर्तमान समसामयिक परिस्थितिको बारेमा छलफल भएको थियो ।

पार्टीको महाधिवेशन, नीति सिद्धान्त, कम्युनिस्ट सरकारको ज्यादतीका कारण वर्तमान व्यबस्थामाथी बढ्दै गएको अविश्वास, लगायत समसामयिक बिषयमा पार्टीको धारणा बनाउन उक्त छलफल आयोजना गरिएको नेता सिटौलाले जानकारी दिए ।

६२-६३ आन्दोलनको मौलिक परिवर्तन गणतन्त्र भएको र कम्युनिस्ट सत्ताले वर्तमान व्यबस्थालाई नै धरासायी बनाउन लागेकोले त्यसको खबरदारीस्वरुप २९ गतेको देशव्यापी आन्दोलन गर्न लागिएको हो भन्दै सिटौलाले यस्ता आन्दोलनहरुको आवस्यकता भएको र त्यसको नेतृत्व लिन कांग्रेस तयार रहेको बताए । त्यस्तै नेता सिटौलाले कोरोना महामारीको बेलामा समेत सरकार आन्तरिक किचलोमा रुमलिएर सत्ता लिप्सामा रहेको भन्दै नेपाली नागरिकले कम्युनिस्टको विकल्प खोजेको बताए । कांग्रेस महाधिवेशन बारे बोल्दै नेता सिटौलाले अविलम्ब महाधिवेशनको मिति तय गरेर प्रक्रियामा अघि बढ्नुपर्ने बताए ।

त्यस्तै उक्त छलफलमा नेता गगन थापाले सरकार दुई तिहाईको दम्भमा वैधानिक रुपमै सत्ता कब्जाको रणनीतिमा रहेको बताउँदै यसबाट वर्तमान व्यबस्थालाई जोगाउन वैधानिक बाटोकै लागि संसदको अधिवेशन अविलम्ब बोलाउन माग गरेका छन । सडकमा यतिबेला कांग्रेस हुनुपर्नेमा राजावादी हुनु दु:खद भएको भन्दै नेता थापाले सडक खाली गरेर अवसरवादीलाई ठाउँ दिनु कांग्रेसको दोष भएको बताए । राष्ट्रपति नालायक भएकोले गणतन्त्रको बदनाम भएको र प्रधानमन्त्री नालायक भएकोले व्यबस्था बदनाम भएको बताए ।

छलफलमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका कांग्रेस नेताकार्यकर्ताले वर्तमान अवस्थामा कांग्रेसको भूमिकाको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एक कार्यक्रममा पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको स्पष्ट पारिसकेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १४:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।