Logo

राजनीति

गगन थापाले साथ दिएपछि सिटौला समूहको बैठकमा गम्भीर परामर्श



 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू निकटका नेताहरूसँग गम्भीर परामर्श गरेका छन् ।

काठमाडौंमा बिहीबार सिटौलाले आफू निकटका नेताहरूसँग मुलुकको राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक समस्याका विषयमा छलफल गरेका हुन् । नेता सिटौलाले सडकमा कांग्रेसको उपस्थिति कमजोर हुँदा राजावादी सल्बलाएको आरोप लगाएका छन् ।

सरकारका गलत कामविरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेसले सडक र सदन दुवै ठाँउमा आफ्नो उपस्थिति देखाउनुपर्ने समय आएको उनले बताएका छन् ।

सडकमा कांग्रेसको उपस्थिति नभएकै कारण राजवादीहरू सल्बलाएको हामीले निष्कर्ष निकालेका सिटौलाले नेताहरूलाई बताएका छन् ।

एक नेताका अनुसार सरकारका असफलता, गलत काम र भ्रष्टाचारविरुद्धमा सडकमा आन्दोलन हुनुपर्ने सिटौलो बताए । भेलाले मंसिर २९ गते पार्टीले गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

भेलामा १४ औं महाधिवेशनबारे समेत छलफल भएको छ । फागुनमा तोकिएको महाधिवेशन सर्ने सम्भावना छ । अहिलेसम्म क्रियाशील सदस्यता जिल्लाबाट आइपुगेको छैन । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको समायोजनको कामसमेत टुंगिएको छैन ।

बैठकमा नेता सिटौलाले समसामयिक राजनीति, सडकमा भइरहेको आन्दोलन र आगामी महाधिवेशनका बारेमा ब्रिफिङ गरेका छन् । सिटौला समूहको भेलामा गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल, भीमसेनदास प्रधान, शिव हुमागाइँलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।