प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा प्रचार प्रसार विभागका उपप्रमुख सुर्य थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गुट चलाएको आरोप लगाएका छन्।
केन्द्रीय कमिटीको जारी बैठकमा शुक्रबार २९ बुँदे लिखित सुझाव राख्दै थापाले पार्टीमा गुटबन्दी भयो भन्दै व्यवहारमा गुटबन्दीको व्यापक अभ्यास भइरहेको बताएका हुन्। यद्यपि लिखित सुझाबमा भने उनले अध्यक्ष दाहालको नाम उल्लेख गरेका छैनन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई घेराबन्दी र असफल पार्ने गरी भैसेपाटी, खुमालटार वा अन्यत्र समेत बैठक भइरहेको उनले बताएका छन्।
’पार्टीमा गुटबन्दी भयो भन्दै व्यवहारमा गुटबन्दीको व्यापक अभ्यास भइरहेको छ। अनुशासनहीनता अराजकता प्रदर्शन र स्वार्थ प्रेरीरत बैठकहरु किन भएका छन्।’ थापाले प्रश्न गरेका छन् ’भैसेपाटी, खुमालटार वा अन्यत्र यस्ता बैठक किन भइरहेका छन्। मुल नेतृत्वलाई घेराबन्दी र असफल पार्ने गरी अनुचित क्रियाकलापहरु गरिनुहुदैन। पुर्ववर्ती समुहका तमाम गलत विरासत बोकेर एकताबद्ध नयाँ पार्टी सञ्चालन हुन सक्दैन।’ एकताबद्ध ढंगले पार्टी अघि बढ्नुको सट्टा समुहका बैठकहरु गरेको र दाउपेच तथा चलखेलमा लागेको थापाले उल्लेख गरेका छन्।
’राजनीतिक प्रतिवेदनमा सरकारको कामको सन्दर्भमा रहेका नकरात्मक टिप्पणी गलत छन्। जनतालाई प्रत्यक्ष राहत पुर्याउने काम गर्न ध्यान नदिएजस्तो अर्थ लाग्ने गरी प्रतिवेदनबाट गलत सन्देश प्रवाह गरिनु हुदैन। ’ २९ बँुदे लिखित सुझावमा थापाले भनेका छन्’, ’राजधानीका सडकहरुमा रहेका खाल्डाखुल्डीहरु अभियानका रुपमा पुरिदासमेत अन्यथा उल्लेख भएको छ। यसलाई हटाएर तथ्यसम्मत बनाउनुपर्छ।’पार्टीका जिम्मेवार नेताहरुले नै सरकारको आलोचना गरेको भन्दै थापाले आपत्ति जनाएका हुन्। उनले भनेका छन् सरकारको भत्सर्ना र आलोचनामा पार्टीका नेताहरु नै अझ स्थायी कमिटी र केन्द्रीय कमिटिका नेताहरुले सिमा नाघेर बोल्ने आदि गर्नुहुँदैन।
सरकार भनेको प्रधानमन्त्री र मन्त्रीहरुको मात्रै होजस्तो गरी यस्ता जिम्मेवारीबाट आज बाहिर रहेका नेताहरुले सरकारको प्रतिरक्षा र पक्षपोषण गर्नुपर्नेमा उल्टै पार्टी नीतिविपरित यस्ता गतिविधि गर्नुहुँदैन। एमसीसीप्रति तथ्यहीन र गलत दुष्प्रचार गरिएको भन्दै थापाले आवधिक र परियोजनाकेन्द्रित अनुदान सम्झौता भएकाले यसलाई सैनिक गठबन्धनको अंग भनेर अनाधिकृत व्यक्तिहरुले टिप्पणी गरी भ्रम सिर्जना बन्द गर्नुपर्ने बताएका छन्।
नेताहरुले गला र टुप्पीसम्म मालाको भारी बोक्ने संस्कृति वा क्वीन्टलका माला लगाउने बिहारी संस्कारको अभ्यास अथवा विमानस्थलमा स्वागतको लस्कर लाग्ने पिर्कै सलामीहरु लिनेआदि गलत अभ्यासहरु बन्द गर्नुपर्छ’,उनले भनेका छन्,’भर्खरै जारी आचारसंहितामा यस्ता विषयको उल्लेख नगर्नु दुःखद हो। विदेशी फूल आयात गरी माला लगाएर कोही पनि विशेष वा विशिष्ठ कहलिन खोज्ने अभ्यास बन्द गर्नुपर्छ।’
दुई पार्टीको एकता केपी ओली र प्रचण्डको दृढ लचक र निर्णायक पहलकदमी तथा जोखिमपूर्ण निर्णय लिनसक्ने क्षमताका कारण सम्भव भएको भन्दै थापाले यसलाई अन्यथा ढंगले अघि बढाउन वा चलखेल गरेर कब्जाको योजनाका साथ कोही पनि अघि बढ्न उपयुक्त नहुने उल्लेख गरेका छन्। थापाले पार्टीमा विभिन्न अध्ययन समुह र प्रतिष्ठानका नाममा गुटबन्दी भइरहेकोले यसलाई बन्द गर्नुपर्ने माग राखेका छन्।




















प्रतिक्रिया