हामी विश्वका विभिन्न कुनामा पाइने खानाको बारेमा सधैं नाम लिने गर्दछौं । केही देश त खानाकै कारणले पनि चर्चित छन् । नेपालकै मौलिक खाना पनि निकै चर्चित छन् । तर, सबै अन्तर्राष्ट्रियकरण हुन सकेको छैन ।
विदेशी नेपाली भूमि टेके लगत्तै नेपाली खानाको रस्वादन गर्न लालायित हुन्छन् । तर, पनि नेपालले आफ्नो खानाको ब्राण्डिङ गर्न सकेको छैन । यहीबीचमा बेलायतको सबैभन्दा चर्चित मास्टर सेफमा भने एक नेपाली नेपालको खानालाई विश्व सामु चिनाउन सफल भइरहेका छन् ।
उनले बनाएको नेपाली परम्परागत खानेकुराले निर्णायकलाई मोहित बनाउँदै मास्टर सेफको फाइनलमा प्रवेश गरेका छन् । बेलायतमा जारी १३ औं संस्करणको बीबीसी मास्टरसेफ प्रोफेसनलमा नेपाली खानेकुराको स्वाद चखाएरै फाइनलमा प्रवेश गरेका छन् ।
विश्वभरका निकै चर्चित सेफहरूबीचको प्रतिस्पर्धामा उनले नेपाली मौलिक खानेकुरालाई पस्किँदै जजलाई मुख मिठ्याउने बनाएर फाइनलको यात्रा तय गर्न सफल भएका हुन् ।
नेपालमा पनि विश्वमा पाइने विभिन्न परिकार जस्तै आफ्नै मौलिक परिकार छन् । स्थान नपाउँदा र अन्तर्राष्ट्रियकरण गर्न नसक्दा अन्य खानाको तुलनामा नेपालकै परिकार भने गुमनान छ ।
विदेशी नेपाल आउँदा यहाँको खानाको स्वाद चाखेर मोहित हुने गरेको भएपनि विश्वमा नेपालका परिकार खासै चर्चामा हुँदैनन् । त्यसैले विश्वभर नेपालका परिकारको ब्रान्डिङ गर्न सन्तोसले चलाएको कदम सराहनीय मात्र छैन प्रतियोगिताका जजबाट निकै राम्रो प्रशंसा पाइरहेका छन् ।
सेमिफाइनलमा सन्तोसले नेवारी खाना योमरीलाई फ्युजन गरेर बनाएको खाना ’बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को प्रतियोगितामा उत्कृष्ट भएपछि उनी फाइनलमा प्रवेश गरेका छन् ।
सन्तोषले मौलिक नेवारी परिकार ‘योमरी’ लाई चकलेट, चिल्ली, अरेन्ज, सिनमन मिसाएर बनाएका थिए । उनी प्रतियोगितामा सहभागी ३२ व्यवसाहिक सेफहरुलाई उछिनेर शीर्ष ६ भित्र पुगेका हुन् ।
त्यसअघि उनले प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना बनाएर टप टेनमा पुगेका थिए । त्यसपछि उनले बेथेको साग, तामाको अचार, भेडाको मासु, खसीको मासुको झोल, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु पस्केका थिए ।
टप टेन यता सन्तोसले नेपाली समूदायमा मात्र नभई विदेशमा पनि चर्चा कमाइरहेका छन् । बीबीसीमा प्रशारण हुने कार्यक्रममा नेपाली खाना लिएर जाने सन्तोस नै पहिलो व्यक्ति पनि हुन् ।
उनी प्रतियोगिताको फाइनलमा प्रवेश गरेपनि उनलाई उपाधि जित्नु भन्दा पनि नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाउँदा खुसी छन् । सिरहा गजर्हनाबाट १५ वर्षको उमेरमा भारत पुगेका सन्तोसको संघर्षका कहानी पनि निकै कष्टपूर्ण छ ।
भारत छिरेर किचन पोर्टर हुँदै पाँच तारे होटलको एक्जुकेटिभ सेफ बनेर उनी सन् २०१० मा बेलायत पुगेका थिए । बेलायतको प्रतिष्ठित रेष्टुरेन्टमा उनी चर्चित सेफका रुपमा चिनिन्छन् ।
प्रवासमा नेपाली मौलिक परिकार बनाउनका लागि चाहिने सामग्री जुटाउन सहज भने छैन । तर, नेपाली खाना विश्वलाई चिनाउन पाउँदा उनका साथीले उनलाई सहयोग गरिरहेका छन् भने सहयोगको प्रतिफल पनि आइरहेको छ । आशा छ, सन्तोसले उपाधि जित्दै विश्वभर नेपाली खानालाई ब्रान्डिङ गर्न सकुन् ।





















प्रतिक्रिया