पूर्वराजदूत तथा नेकपाका केन्द्रीय सदस्य कमान सिंह लामाले मृत्युको सातादिनअघि फेसबुकमा एउटा स्टाटस राखे । उक्त स्टाटसका विषयमा पहिले कुनै बहस नभए पनि लामाको मृत्युपछि भने उक्त स्टाटसले नेकपाभित्र तरंग सिर्जना गरेको छ ।
लामाको परिवारको सेयर विवादमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम जोडिएपछि नेताहरु आक्षेप र बचाउमा उत्रिएका हुन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरु नारायणकाजी श्रेष्ठको बचाउमा छन् भने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु त्यसको विपक्षमा । लामाको बिहीवार कोरोनाका कारण निधन भयो । उनले सामाजिक सञ्जालमा मृत्युपूर्व श्रीमतीलाई सम्बोधन गरेर भावुक स्टाटस राखेका थिए ।
स्टाटसमा दिवंगत लामाले नाम नतोकिकन नेताकै कारण आफ्नो घरबार बिग्रिएको आर्थिकरूपमा डामाडोल बनेको उल्लेख गरेका छन् । प्रवक्ता श्रेष्ठसँग लामाले अढाइ करोड रुपैयाँको हिसाब मिलाइदिन आग्रह गरेको अडियो भिडियो सार्वजनिक भएको थियो । सोही विषयमा नेताहरुबीच जुहारी चलेको हो ।
नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कमानसिंहले पार्टी र पार्टीमा कम्युनिष्ट आदर्शको कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेको बताएका छन् । ओली निकट पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लामाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो बताएका हुन् ।
“कमरेड कमानसिंह लामा अब हामीबीच रहनु भएन ! हार्दिक श्रद्धाञ्जली ! तर वहाँले आफूसम्वद्ध कम्युनिष्ट पार्टीलाई (अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ। अलविदा कमरेड कमानसिंह लामा,” उनले लेखेका छन्।
उनको स्टाटसप्रति नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले काउन्टर दिएका छन् । रिजालले सेयर विवाद श्रेष्ठले सुल्झाउन खोजेको भन्दै आपत्ति जनाउनुपर्ने विषय नरहेको जिकिर गरेका छन् । शुक्रबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नारायणकाजीका विषयमा उठेको आक्रोश अन्य विषयमा नजोड्न आग्रह पनि गरेका छन् ।
“नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली–गलौज गर्ने चलन चलेकै छ,” रिजाल भन्छन्, “तर, सार्वजनिक अडिओ–भिडिओ अनुसार उहाँले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन।“ उनले शाही शासनकालमा पानी ट्यांकीमा पैसा लुकाएको प्रसंगले बदनाम भएको पार्टी नारायणकाजीलाई मूछेर बदनाम गर्न खोजिएको तर्क गरेका छन्।
“शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जा‘दैन र, रिजालले सोधेका छन्। उनले पार्टीका नेता र तिनका छोराहरू के(कस्ता कार्यमा संलग्न भन्ने छानबिनका लागि आयोग गठन गर्न चुनौति पनि दिएका छन्।
नेकपाका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशीखाले पनि प्रवक्ता श्रेष्ठले शेयर विवादमा सहजीकरणको भूमिका खेलेको दाबी गरेका छन्। उनले आफ्नै पार्टीका साथीहरुको विवाद मिलाउन सहजीकरण गर्नु अपराध हो र भन्दै प्रश्न पनि तेर्स्याएका छन्।
“अडियोको कुरा गर्ने हो भनेपनि उहाँले दुवै पक्षलाई मिलाउन खोजेको सुनिन्छ । आफ्नै पार्टीका साथीहरु बिचको विवाद मिलाउनु र सहजिकरण गर्नु अपराध हो र ? अडियोमा न उनलाई पिडितले भनेका छन् न उनले नै ! यसरि आरोपित गरिने हो भने त समाजमा एकअर्काबिचको विवाद मिलाउन हरेक सदस्यले भुमिका खेलिरहेको हुन्छ, उनले लेखेका छन्।
प्रवक्ता श्रेष्ठले कमानसिंहको घरायसी मामिलासँग जोडेर आफूलाई बदनाम गराउन खोजिएको बताएका छन् । बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता श्रेष्ठले कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिभित्र भ्रष्टाचारविरोधी आन्दोलनको अगुवाइ गरिरहेकाले त्यसलाई कमजोर बनाउन नियोजितरूपमा षड्यन्त्र गरिएकोरूपमा आफूले बुझेको बताए ।अहिले समाजिक सञ्जालमा श्रेष्ठप्रति विभिन्न टिकाटिप्पणी भइरहेको छ।




















प्रतिक्रिया