नेपाली काँग्रेस लामो समयपछि सडकमा ओर्लिदैछ । २९ मंसिरमा काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने भएको छ । यो आन्दोलन भने होइन । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुमा पुल उदघाटनमा रोकेर प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोधमा एक दिन प्रदर्शन तथा सभा देशभर गर्न लागेको हो । त्यसपछि काँग्रेस सडक तताइरहन्छ या संसदमा कमजोर प्रतिपक्षको भूमिकासुन्य व्यवहारमा हुन्छ रु यो चासोको विषय बनेको छ ।
पदाधिकारी बैठक बसी प्रदर्शनको तयारी गरेका सभापति शेरबहादुर देउवाले आज आकस्मिक रुपमा केन्द्रीय समिति बैठक डाकेका छन् । शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । यसअघि पनि उनी बालुवाटार पुगी ओलीसँग महत्वपूर्ण भेटघाट गरे ।
काँग्रेससँग ओलीले समिकरणको प्रस्ताव गरेको चर्चा छ । तर, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् । उनले यो संसदको कार्यकाल प्रमुख प्रतिपक्षीकै भूमिकामा रहने बताएका छन् ।
काँग्रेसभित्र सरकारमा जानुपर्ने विषय नउठेको होइन । सर्वदलीय सरकारको विषय समेत उठेको छ । कोरोना महामारी शुरु भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले संर्वदलीय सरकारको आवश्यकता औल्याएका थिए । त्यसको कतिपयले आलोचना गरे । अहिले नेकपाभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री ओलीले यसलाई विकल्पका रुपमा कुराकानी चलाएको बुझिएको छ ।
ओलीले देउवासँग निकटता बढाएका छन् । उनले संवैधानिक परिषदको बैठक डाकेर संवैधानिक निकायमा नियुक्तिका लागि देउवासँग भागवण्डासँग प्याकेजमा सहमति खोजेको बुझिएको छ । विशेषगरी अख्तियारको आयुक्तहरुमा ओली र देउवा दुवैको चासो छ ।
प्रमुख आयुक्तसहित दुई आयुक्त पद खाली रहेकाले अख्तियारमा ओली, देउवा र प्रचण्ड तीनैजनाले आफू निकटस्थलाई बनाउन चाहेका छन् । ओली कम्तिमा दुईजना आफू निकटस्थलाई बनाएर एक पदमा देउवाले भनेको व्यक्तिलाई बनाएर अगाडि बढ्न खोजिरहेका छन् । प्रचण्डले अर्का एक व्यक्ति बनाउन चाहेमा त्यसका लागि उनले राजनीतिक लेनदेनको विषय राखेको बुझिएको छ ।
ओलीले राजनीतिक सहकार्य र समिकरणसँगै कतिपय नियुक्तिमा भागवण्डालाई अस्त्रका रुपमा सारेका छन् । यसले नयाँ राजनीतिक माहोल सृजना हुनसक्ने देखिएको छ ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट, के भयो कुराकानी ?
प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । आजको भेटमा संवैधानिक आयोगहरुको रिक्त पदमा नियुक्ति गर्ने विषयमा छलफल भएको बताइएको छ । ओलीले आयोगहरुमा नियुक्तिका लागि देउवासँग सहयोग मागेको बताइएको छ ।
आइतबार बस्ने संवैधानिक परिषदको संवैधानिक परिषद बैठक बारेमा अनौपचारिक छलफल भएको थियो । संवैधानिक परिषदमा सहमति हुन नसक्दा अहिलेसम्म संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेको छैनन्। विभिन्न आयोगका प्रमुख र सदस्य गरी संवैधानिक आयोगहरूमा ४५ जनाको नियुक्ति हुन बाँकी छ।
यद्यपी ओलीले पार्टीभित्रको विवाद चुलिएका बेला देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र देउवाका तर्फबाट काँग्रेस केन्द्री सदस्य रमेश लेखक सहभागी थिए ।
प्रतिक्रिया