Logo

राजनीति

बाबुरामले गरे प्रचण्डको झुटकाे पर्दाफास, पूर्वएमालेहरु पनि चर्को विरोधमा



समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सफेद झुटको पर्दाफास गरेका छन् ।

प्रचण्डको ‘गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गर्न भन्नुभयो’ भन्ने अभिव्यक्तिको खण्डन गर्दै बाबुरामले झुटको पर्दाफास गरेका हुन् । प्रचण्डको अभिव्यक्तिलगत्तै ट्वीट गर्दै बाबुरामले गिरिजाले ठूला आक्रमण गर्न आग्रह नगरेको खुलासा गर्दै प्रचण्डले बढाई चढाई गरेर इतिहासलाई तोडमोड गरेको तथ्य सार्वजनिक गरे । उनले बढाईचढाई प्रचण्डको शैली नै भएको समेत स्पष्ट पारेका छन् ।

गिरिजाले १२ बुँदे सहमति भइसकेपछि २०६२ मंसिरमा घोषणा गरेको नगरपालिकाको चुनाव विथोल्न आग्रह गरेको खुलाउँदै बाबुरामले आक्रमण गर्न भनेको कुरा बढाई चढाई मात्रै भएको स्पष्ट पारेका छन् ।

बिहीबार जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले जनआन्दोलन चलिरहेको समयमा नेपाली कांग्रेसका तत्कालिन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गरिदिन आग्रह गर्ने गरेको बताएका थिए । ‘गिरिजाप्रसाद कोइराला र मेराबीच दिनदिनै फोनमा कुरा हुन्थ्यो। उहाँले अली ठूला आक्रमण गर्न पर्यो भन्नु हुन्थ्यो। जिल्ला सदरमकाम हान्न र्पयो भन्नुहुन्थ्यो। संसारमा यस्तो कमै छ’, उनले भनेका थिए ।

प्रचण्डको यो अभिव्यक्तिमा नेपाली कांग्रेसले समेत आपत्ति जनाइसकेको छ । सामाजिक सञ्जाल लगायत सबैतिर चर्को आलोचना समेत भइरहेको छ । पूर्वएमाले समूहका नेताहरु पनि यो अभिव्यक्तिको विरोधमा उत्रिएका छन् । नेकपा नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिले पार्टीलाई नै घाटा हुने भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार १६:११   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।