पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसनको अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री ओली थलिएका छ्न् । ९ सदस्यीय सचिवालयमा ओली अहिले एक्लै परेका छन् ।
यसअघि नै पुष्पकमल दाहाल प्रचण्ड समूह, माधवकुमार नेपाल समूह र वामदेव गौतम समूहले ओली विरुद्ध अघोषित मोर्चाबन्दी गरिरहेको बेला ओली समूहका अन्य प्रभावशाली नेताहरूले साथ छोडेको परिदृश्य देखिएको छ । यसअघि ओली पक्षमा खुलेर लागेका महासचिव विष्णु पौडेलले समेत ओली समूह छोडेको बताइन्छ ।
यस्तै गरि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्री ओलीले यति प्रकरणमा आफूलाई जानाजान फसाएको भन्दै आफ्ना निकटवर्ती दुखेसो पोख्ने गरेको सुन्नमा आएको छ । बाँस्कोटा प्रकरण भन्दा अगाडि सरकार र ओलीको प्रतिरक्षामा लागिरहेका उपप्रधान तथा रक्षामन्त्री पोखरेल अहिले मौन छ्न् ।
पार्टीको कार्यकारी अध्यक्षको हैसियत प्राप्त गरेको समयदेखि प्रचण्डको शक्तिमा भने निरन्तर वृद्धि भै रहेको देखिएको छ । अहिले प्रचण्डको पक्षमा उनी सहित गृहमन्त्री रामबहादुर थापा बादल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल सहित उपाध्यक्ष वामदेव गौतमको साथ छ । भने वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र भिम रावल एउटा समूहमा देखिँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल मौन रहँदा सचिवालयमा ओली एक्लै परेको बताइन्छ ।
सत्तारूढ नेकपामा यतिबेला अमेरिकन सहायता सम्बन्धि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धि विवाद उत्कर्षमा छ । निशर्त र बिना संशोधन एमसीसी पास गर्नुपर्ने अडानमा रहेका प्रधानमन्त्री ओली सचिवालयमा एक्लै पर्नुले त्यसको पहिलो असर एमसीसीको अनुमोदनमा पर्ने जानकारहरूको भनाइ छ । कतिसम्म भने एमसीसीको विपक्षमा एक शब्द समेत सुन्न नचाहने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली समेत एमसीसी संशोधनको पक्षमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सत्तारूढ नेकपाको शक्तिशाली मानिएको सचिवालयमा ओली एक्लै पर्नुले ओली सरकारको निरन्तरता समेत प्रश्न उठ्न थालेको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड आफैं प्रधानमन्त्री बन्नको लागि पार्टी भित्र नयाँ समीकरण निर्माण गर्न सकृय रहेको बेला सार्वजनिक भएको बाँस्कोटा प्रकरणले प्रधानमन्त्री ओली भने थलिएका छन् । यसको असर कस्तो पर्ने हो त्यो हेर्नको लागि भने केही दिन कुर्नुपर्ने हुन्छ ।
















प्रतिक्रिया