Logo

राजनीति

एक अर्बको चलखेलमा बास्कोटासहित उच्च व्यक्ति संलग्न छन् : सभापति देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा एक्लै नभई अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्ने दाबी गर्दै छानविनको माग गरेका छन्।

कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले बास्कोटा एक्लैले एक अर्बको डिल गर्न सम्भव नभएको बताए । ‘यो चानचुने बिषय होइन’ उनले भने, ‘बास्कोटा एक्लैले त्यत्रो काण्ड गरे भनेर पत्याउने आधार छैन, अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्छन् ।’

यो प्रकरणलाई कांग्रेसले त्यत्तिकै नछाड्ने उनले उद्घोष गरे। ‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्री एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेको देउवाको आरोप छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले दुई तिहाइको शक्ति प्रयोग गरेर सरकारले अनियमिततालाई संस्थागत गरेको आरोप लगाए । उनले स्याटलाइट, फोरजीलगायतका खरिद प्रक्रियामा निवर्तमान सञ्चारमन्त्री बास्कोटाले अनियमितता गरेको दाबी गरे।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार १२:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।