प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेर जनमानसमाझ गुमेको साख फर्काउने प्रयत्न गरेको छ । दुई तिहाइको दम्भमा सरकार अभिनायकवादतर्फ उन्मुख रहेको निष्कर्षसहित कांग्रेसले देशव्यापी प्रदर्शन गरे पनि उसको भित्री आशय भने आफ्नै गुमेको साख फर्काउने देखिन्छ ।
२०७४ को आम निर्वाचनमा वाम गठबन्धन झण्डै दुई तिहाइ मतका साथ विजयी भएसँगै संसदमा प्रमुख प्रतिपक्षका रुपमा काँग्रेस निकै सानो आकारमा खुम्चियो । त्यसमा पनि काँग्रेसले सडक प्रदर्शन, बन्द, हड्तालजस्ता गतिविधि नगरेर ‘रचनात्मक प्रतिपक्ष’को भूमिका निर्वाह गर्ने नीति अख्तियार गरेपछि मुलुकमा प्रतिपक्ष नै नभएको पो हो कि भन्नेसम्मका टिप्पणी पनि भए ।
भ्रष्टाचारका विभिन्न काण्ड, कोरोनाको कहरमा समेत जनताप्रति सरकारको बेवास्ता, सत्तारुढ दलभित्रको विवाद जस्ता विषयले जनतामा वितृष्णा बढ्दै जानु र यही मौकामा राजावादीहरु गणतन्त्रका विरुद्ध सडकमा निस्कन थाल्नु र विप्लव नेतृत्वको नेकपाले हत्या–हिंसाको राजनीतिक यात्रामा पाइला अघि बढाउनुले नेपालको राजनीतिक भविष्यमाथि प्रश्न उठाउनु स्वाभाविक हो ।
लामो समय सडक संघर्षबाट टाढा रहेको नेपाली काँग्रेसले परिस्थितिको यिनै गम्भीरतालाई मनन् गरेर एकाएक सडकमा ओर्लने निर्णय गरेको हो । तर एकदिने यो प्रदर्शनले सरकार सच्चिन्छ वा सरकारलाई साँच्चै दबाब पुग्छ कि काँग्रेसले आफ्नो अस्तित्व रक्षाका लागिमात्र आन्दोलनको सहारा लिएको हो भन्ने प्रश्न पनि महत्वपूर्ण नै छ । सरकारलाई जिम्मेवारीवोध गराउने, दबाब दिने भूमिकामा लामो समय चुकेको काँग्रेसले यतिबेला राजावादीहरुले सडक कब्जा गर्न थालेका कारण नै आफूलाई सडकमा उतारेको त होइन भन्ने प्रश्नलाई पनि परिस्थितिले ‘हलुका’ भन्न नमिल्ने अवस्थामा राखेको छ ।
आन्दोलन किन ?
काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत आफ्नो अस्तित्व रक्षाका लागि नभइ सरकारका गलत क्रियाकलापले काँग्रेसलाई सडकमा जान बाध्य तुल्याएको बताउँछन् । ‘काँग्रेसको अस्तित्व हिजो पनि थियो, आज पनि छ र भोलिका दिनमा पनि अझ सशक्त रहन्छ, त्यसमा दुईमत छैन,’ रातोपाटीसँग उनले भने, ‘हामीले पहिला पनि सरकारका गलत क्रियाकलापको विरुद्ध संसद र संसद बाहिर पटक पटक आवाज उठाउँदै आएको हो । तर सरकारले त्यसलाई ध्यान दिएन । त्यसैले अहिले सडकमा जानुपरेको हो ।’
उनका अनुसार काँग्रेसले लामो समयदेखि सरकारका गलत क्रियाकलापका विरुद्ध सभ्य तरिकाले आवाज उठाउँदै आएको छ । ‘प्रतिपक्ष हो, अलिअलि बोल्दै गर्दछन्, भन्दै गर्छन् । यसले केही फरक पर्दैन’ भनेर सरकारले आफ्नो पार्टी व्यवस्थापनमा मात्र ध्यान दिएको उनले बताए । पार्टीभित्रका कुन नेतालाई कसरी चुप लगाउने, असन्तुष्टलाई कसरी व्यवस्थापन गर्ने, उनीहरुलाई चुप लगाउन कसरी राज्यको साधनस्रोत उपयोग गर्ने भन्ने बाटोमा सरकार हिँडेका कारण काँग्रेसले जनताका मुद्दामा ध्यानाकर्षण गराउन सडक प्रदर्शन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक पनि सरकारकै गैरजिम्मेवारीपनका कारण काँग्रेस सडकमा उत्रिनुपर्ने अवस्था निम्तिएको बताउँछन् ।
‘हामीले सरकारलाई दबाब दिने वा सुझाव दिने कुरा, सरकारका कामबारे सुक्ष्म निगरानी गर्ने कुरा, सरकारका काम कारवाही अध्ययन गरेर निष्कर्षमा पुग्ने कुरा गरिरहेकै थियौँ,’ उनले भने, ‘हाम्रो त्यो भूमिकालाई कतिपयले काँग्रेस त विज्ञप्तिमा सीमित भयो भनेर पनि भने । कोरोनाको यो कहरमा जुलुस, आमसभा नगरौँ भन्ने नै हो तर अति भइसकेपछि गर्नैपर्ने अवस्था आयो ।’
सरकारले भ्रष्टाचारको विषय होस् कि बेथिति र विकास निर्माणका सवालमा होस्, एकपछि अर्को गलत काम गर्न थालेपछि प्रमुख प्रतिपक्ष भएका नाताले काँग्रेस सडक संघर्षमा उत्रनुपरेको उनले प्रस्ट पारे ।
‘पछिल्लो समय हाम्रै वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारको जुन हरकत भयो, त्यसले सरकारका स्वेच्छाचारी कदम अति नै भयो भन्ने निष्कर्षमा हामीलाई पु¥यायो,’ उनले भने, ‘त्यसैले यो सरकारलाई दबाब दिनै पर्छ भनेर हामीले यो कार्यक्रम निर्धारण गरेका हौँ ।’
काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे सरकार पूर्णतः असफल देखिएको दावी गर्छन् । सरकारको असफलतालाई प्रतिपक्ष दलका नाताले काँग्रेसले टुलुटुलु हेर्न नमिल्ने उनको भनाइ छ ।
‘हामीले बहुमतको सरकारलाई राम्ररी काम गर्ने मौका दियौँ । तर सरकारले राम्रो काम गर्न सकेन, गैरजिम्मेवार हुँदै गयो । कोभिड–१९ पछि त सरकार सम्पूर्ण रुपमा निर्वस्त्र नै भयो,’ उनले भने, ‘त्यसमा पनि हाम्रो सदासयतालाई सरकारले कमजोरी ठानेर हालै हाम्रा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा जाइलाग्ने काम ग¥यो । त्यसबाट हामीले बुझ्यौँ कि यो सरकार प्रवृत्तिगत रुपबाट, चरित्रगत रुपबाट ठिक छैन । त्यसपछि हामीले विरोध प्रदर्शनको कार्यक्रम राखेका हौँ ।’
राजावादीको आन्दोलनले दबाब ?
सडक संघर्ष, बन्द वा हड्ताल नगर्ने घोषणा गरेको काँग्रेसले आफ्नो सो नीति परिवर्तन गरेको हो त भन्ने प्रश्न पनि उब्जिएको छ । प्रमुख प्रतिपक्ष वा विपक्षी दलहरु सडकमा शून्य रहेकै कारण राजावादीहरु सल्बलाउन थालेको टिप्पणी पनि भइरहेको छ । तर काँग्रेस सहमहामन्त्री डा महत यो तर्कमा सहमत छैनन् ।
‘हिजो कोभिडका कारण लकडाउन, निषेधाज्ञाको स्थिति थियो । त्यो बेला सडकमा निस्कने कुरा भएन । यद्यपि, अहिले पनि संक्रमण रोकिएको छैन । तर पनि जनजीविकाका लागि मानिसहरुले जोखिम मोलेरै बाहिर निस्कनु परेको अवस्था छ,’ उनले भने, ‘सरकारले राज्यको साधन–स्रोतको दुरुपयोगमात्र गरेको छ । कोभिडमा २० अर्ब खर्च भइसक्यो भन्छ, कहाँ खर्च भयो भन्ने थाहा छैन ।’
हिजोका दिनमा कोरोनाको कहरका साथै चाडबाड पनि रहेकाले सडकमा निस्कन अनुकुल नभएको उनको भनाइ छ । तर अहिले राजावादीहरु सडकमा आए भनेर आफूहरु अत्तालिएर सडकमा आएको भन्ने तर्कमा पनि सत्यता नरहेको उनले बताए । उनका अनुसार लोकतान्त्रिक प्रणालीको असफलताभन्दा पनि यो प्रणालीअन्तर्गत निर्वाचित भएको सरकारको असफलता हो यो । ‘उहाँहरुले जनतालाई जुन विश्वास दिलाएर, संविधानको मर्मअनुसार चल्छु भनेर जसरी निर्वाचित भएर आउनुभएको थियो, यहाँसम्म आइपुग्दा ती कुनै प्रतिवद्धता पूरा नगरेको र जनतालाई धोका दिएका कारण जनतामा असन्तुष्टि छ,’ उनले भने, ‘त्यो असन्तुष्टिलाई यो प्रणालीको खिलापमा जान सक्ने वा अरुखाले सोच राख्ने विभिन्न प्रवृत्तिहरुले आफ्नो अनुकुल बनाउन खोजेका छन् ।’
विप्लव समूहले हत्या–हिंसाको पुरानै शृङ्खलालाई दोहो¥याउन खोजेको र राजाका नाउमा एकथरीले यो प्रणाली नै असफल भयो भनेर प्रचार गर्न खोजिरहेको उनले प्रस्ट पारे । ‘तर हाम्रो भनाइ के हो भने कुनै पनि असन्तुष्टिहरुलाई संविधान संशोधन गरेर सम्बोधन गर्ने ठाउँ संविधानले नै दिएको छ,’ उनले भने, ‘त्यसकारण प्रणालीको असफलताभन्दा पनि जनतालाई विश्वास दिलाएर निर्वाचित भएको सरकारले जनताको त्यो विश्वासलाई घात गरेका कारण जनतामा असन्तुष्टि देखिएको छ । त्यो असन्तुष्टिको समाधान भनेकै जहाँबाट गल्ती भएको हो, त्यहीँ पुगेर त्यसलाई सच्याउनु पर्छ भन्ने हामीलाई लाग्छ । मूलभूत रुपमा अहिले जनमत पनि त्यतैतिर छ ।’
केन्द्रीय सदस्य लेखक भने राजावादी प्रदर्शनलाई संविधानकै विरुद्धको प्रहारका रुपमा लिन्छन् । ‘राजा आउ देश बचाउ भन्ने आन्दोलन, अभियान वा प्रदर्शन भनेको संविधान, हामीले अवलम्बन गरेको राजनीतिक व्यवस्था विपरीतको कुरा हो । यो देश बर्बाद गर्न जुन राजाहरुको भूमिका रह्यो, उनीहरु फेरि आएर यो देश बचाउँछन् भन्ने कुरामा जनताले कति भर गर्लान् भन्ने कुरा पनि हो,’ उनले भने, ‘तर अर्को मुख्य कुरा, यसको उत्पत्तिको कारक भनेको सरकार नै हो ।’
उनका अनुसार अहिले दुईवटा अतिवाद देखिएका छन्– एउटा राजा आउ देश बचाउ भन्नेहरु र अर्को विप्लव समूह । यी दुवै अतिवाद एकैपटक सक्रिय हुनुको पछाडि यो सरकारको गलत काम नै मुख्य कारक रहेको उनको भनाइ छ । ‘सरकारका गलत कामका कारण जनता निराश भएका छन् र त्यो निराशाको फाइदा उनीहरुले उठाउन खोजे,’ उनले भने, ‘राजावादीहरुको प्रदर्शन बेठिक हो, विप्लव समूहले मान्छे मार्ने काम बेठिक हो भन्ने एउटा पाटो हो भने यी दुवै बेठिक काम जसरी सतहमा आए, त्यसको मुख्य कारण भनेको सरकार नै हो । त्यसकारण पनि काँग्रेसले सरकारमाथि दबाब दिनु परेको हो ।’
अरु कोही सडकमा निस्किए भनेर आफूहरु सडक ओगट्नका लागि मात्र नआएको उनको भनाइ छ । केन्द्रीय सदस्य घिमिरे राजावादी आन्दोलनको पृष्ठभूमिमा सडकमा दुईवटा प्रवृत्ति देखिएको टिप्पणी गर्दछन् । उनले भने, ‘सडकमा आउने एकथरी जनता वास्तवमै पीडित छन् । यो सरकारको कार्यसम्पादन, सेवाप्रवाहबाट असन्तुष्ट भएर, आक्रोसित भएर उनीहरु सडकमा आएका छन् । अर्काथरी भने पानी धमिल्याएर माछा मार्ने दाउमा आएका छन् । राजालाई, धर्मलाई अघि सारेर भोलि सत्ता पुनर्स्थापित गरेर त्यसैको नाममा फाइदा लिने उनीहरुको उद्देश्य छ ।’
राजावादीका नाममा अहिले सडकमा उठेका विषयलाई आफूहरुले २०६२/०६३ को आन्दोलन अघि नै उठाइसकेको उनले बताए । ‘राजालाई संवैधानिक रुपमा बस्न, कार्यकारी अधिकार नलेऊ, जनअधिकार फिर्ता गर भनेर हामीले त्यतिबेलै भनेका हौँ,’ उनले भने, ‘हाम्रा कुरालाई नमानेर राजा आफ्नै मुर्खता, कुबुद्धिले गद्दीबाट बाहिरिनु परेको हो,’ उनले भने, ‘त्यही कुरा अहिले एकथरीले सडकमा भनिरहेका छन् र अब त्यो कुराका लागि निकै ढिलो भइसकेको छ ।’
काँग्रेसले सडक प्रदर्शन नगरेका कारण राजावादीहरु सडकमा उत्रिन आए भन्नेमा उनी सहमत छैनन् । तर प्रमुख प्रतिपक्षका रुपमा काँग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भने उनले स्वीकार गरे । उनले भने, ‘नेपाली काँग्रेसले सडकमा र संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेन भन्ने कुरा म निसंकोच रुपमा स्वीकार गर्दछु । जनताको चाहना, इच्छा र मुलुकको आवश्यकताअनुसार तथा सरकारको गैरजिम्मेवार क्रियाकलापविरुद्ध प्रतिक्रियास्वरुप भूमिका निर्वाह गर्न हामीले नसकेकै हो ।’
आन्दोलनलाई निरन्तरता !
सरकारले आफ्नो गल्ती नसच्याए काँग्रेसले आन्दोलनलाई निरन्तरता दिने रणनीति बनाएको छ । सहमहामन्त्री डा. महतका अनुसार काँग्रेसले सरकारलाई विस्थापित गर्न नभइ उसका गलत क्रियाकलापलाई सच्याउन आन्दोलन गर्नुपरेको हो ।
उनले भने, ‘२०७४ सालको निर्वाचनको जनमत अनुसार हामीले यो सरकारलाई विस्थापन गर्न अझै दुई वर्ष कुर्नुपर्ने हुन्छ तर सरकारका एकपछि अर्को गलत कदमका विरुद्ध वा भनौं यो सरकारलाई सुध्रिनका लागि हामीले दबाबमुलक कार्यक्रमको रुपमा यो आन्दोलन घोषणा गरेका छौँ र यो सुरुवातमात्र हो ।’
सोमबार विरोध प्रदर्शनका क्रममा ७७ वटै जिल्लामा जुलुस र छोटो सभा पनि हुने उनले जनाए । ‘भ्रष्टाचार, कोभिड व्यवस्थापनमा असफलता, सर्वसत्तावादी र दमनकारी प्रवृत्तिका विरोधमा जनतालाई जागरुक तुल्याउँछौँ,’ उनले भने, ‘यो कार्यक्रम सकिएपछि केन्द्रीय समितिमा छलफल गरेर थप कार्यक्रम अघि सार्छौँ ।’
उनका अनुसार काँग्रेसले संसदको बैठक पनि अविलम्ब बोलाउन माग गरेको छ । ‘किनकि हामीले स्वीकार गरेको यो व्यवस्थामा मुद्दाहरु उठाउने, छलफल गर्ने मूल थलो भनेकै संसद हो,’ उनले भने, ‘त्यो पनि बन्द हुँदा हामी सडकमा उत्रिनु परेको अवस्था छ । त्यसैले संसद बैठक पनि बोलाउन हाम्रो जोडदार माग छ ।’
केन्द्रीय सदस्य लेखक पनि सोमबारको आन्दोलनलाई सुरुवात मान्छन् । उनले भने, ‘हामीले सभ्य, संयमित र शान्तिपूर्ण ढंगले सरकारमाथि दबाब सिर्जना गर्न अन्य विकल्पहरु अपनायौँ, विज्ञप्तिहरुमार्फत खबरदारी ग¥यौं तर सरकारले सुनेन । सरकार नसुध्रिने स्थिति देखिएको छ, त्यसकारण निरन्तररुपमा सडकमार्फत पनि दबाब सिर्जना गर्नुपर्ने स्थिति देखिएको छ । मंसिर २९ गतेको प्रदर्शन त्यसकै प्रारम्भ हो ।’
तर यसअघि सरकारलाई ठिक ठाउँमा ल्याउन दिनुपर्ने यथेष्ट दबाब काँग्रेसले दिन सकेन भन्ने आरोपलाई उनले स्वीकार गरे । ‘हामी जुन ढंगले सरकारका विरुद्ध अघि बढ्नुपर्ने स्थिति थियो, त्यो हुन सकेन,’ उनले भने, ‘तर त्यसको पनि एउटा कारण के हो भने हामी पनि आफ्नै आन्तरिक समस्यामा ज्यादा अल्झिएर बस्यौँ । त्यसकारण पनि हामीले सरकारलाई जति दबाब दिनु पर्दथ्यो, त्यति दबाब दिन सकेनौँ ।’
काँग्रेस दिनदिनै आन्दोलन गरिरहने, अराजक गतिविधि गर्ने प्रवृत्ति भएको पार्टी नभएको प्रस्ट पार्दै उनले आफूहरुको यो सदासयतालाई कमजोरीका रुपमा नहेरियोस् भनेर नै अहिले सडकमा उत्रिन लागेको बताए । उनले भने, ‘काँग्रेसले दबाब दिएन, काँग्रेसले आन्दोलन गरेन, विरोध प्रदर्शन गरेन भनेर काँग्रेस कमजोर भयो भन्ने नबुझियोस् ।’
केन्द्रीय सदस्य घिमिरे पनि प्रतिपक्षको सदासयतालाई सरकारले कमजोर ठान्ने धृष्टता गरेपछि सडकमा उत्रिनु परेको र सोमबारको आन्दोलन सुरुवातमात्र भएको बताउँछन् । ‘हामीले प्रतिपक्षको भूमिकालाई अलि संयमित र जिम्मेवार बनाउन खोजेको हो । हामीले विरोधका कार्यक्रमहरु नगर्नुको कारण कोभिड–१९ मात्र होइन, हामीले नेकपाको नेतृत्वमा सरकार बनेपछि नै प्रतिपक्षीको परम्परागत भूमिकालाई पुनरावलोकन, परिमार्जन गर्ने र संयमित रुपमा प्रस्तुत हुने भन्ने नीति अख्तियार गरेको हो,’ उनले भने, ‘सडकमा अराजकतापूर्ण क्रियाकलाप प्रदर्शन गर्ने, नेपाल बन्द गर्ने, तोडफोड गर्ने, उच्छृङ्खल क्रियाकलाप गर्ने भूमिका विगतमा प्रतिपक्षको थियो, यस्तो भूमिका संसदीय व्यवस्था, शान्तिपूर्ण राजनीतिको मर्मका प्रतिकुल हो भनेर एउटा नीतिगत बाटो हामीले अवलम्बन गरेका हौँ ।’
२०७४ को निर्वाचनपछि काँग्रेसले प्रतिपक्षको परम्परागत भूमिकाको पुनरावलोकन गरेर सरकारलाई रचनात्मक सहयोग गरेको उनको भनाइ छ । ‘ताकि भोलिका दिनमा आउने प्रतिपक्षले पनि यो कुरालाई अनुसरण गरोस् र जिम्मेवार एवं रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरोस्,’ उनले भने ।
घिमिरेका अनुसार काँग्रेसले मुलुकमा राजनीतिक स्थिरता होस्, विपक्षले काम गर्न दिएन भन्ने आरोप लगाउने ठाउँ नहोस् भनेर सदासयता देखाएको हो । ‘तर हाम्रो त्यो सदासयतालाई सरकारले कमजोरी ठान्यो,’ उनले भने, ‘अन्ततः हाम्रो नेतामाथि जाइलाग्यो । प्रजातन्त्रमा पार्टीले निर्वाध रुपमा गतिविधि गर्न पाउने, आफ्ना विचार राख्न पाउने कुरालाई सरकारले कस्दै, खुम्च्याउँदै संकिर्ण दायरामा कैद गर्न खोज्यो । त्यसैले बाध्य भएर हामी सडकमा गएका हौँ ।’ उनले आगामी दिनमा सरकारलाई प्रचण्ड दबाब सिर्जना गर्ने भूमिकामा काँग्रेस देखापर्ने उनले बताए ।





















प्रतिक्रिया