प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै छ । सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको तथा निरंकुश बन्दै गएको भन्दै कांग्रेसले ७७ जिल्लामै सडकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन तथा अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गर्न नेताकार्यकर्तालाई अपिल गरेका छन् ।
‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित गर्दै लग्यो,’ कांग्रेसको अपिलमा भनिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्। मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने शर्माले बताए।
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले बताएको छ। केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।
यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरी राख्दै शान्तिपूर्ण सहभागिताका लागि अपील गरेको छन्। आइतबार प्रेस वक्तव्य जारी गर्दै देउवाले मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्त्वपूर्ण रहेको बताएका हुन्।
‘यसमा सक्रिय सहभागिताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरूसँगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन्। प्रतिपक्षका रुपमा नेपाली कांग्रेसले निरन्तर शालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको उल्लेख गर्दै देउवाले वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रुपमा बुझ्ने धृष्टता गरेको र अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको टिप्पणी गरेको बताएका छन्।
‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो, नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत् सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो,’ देउवाले भनेका छन्, ‘अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नुछ, त्यसकै शुरुआत हो भोलिको सांकेतिक प्रदर्शन।’
प्रदर्शनको तयारीमा जुटेका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन देउवाले अपील गरेका छन्। ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरूलाई आग्रह गर्दछु,’ उनले भनेका छन्। न सभापति देउवाले जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ? भन्दै प्रश्न गरेका छन्।
‘शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरूमार्फत् अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्रजिम्मेवार जवाफ के हुनसक्छ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ?,’ देउवाले भनेका छन्।
प्रतिक्रिया