सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ ।
विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरुपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।
सिंहदरबारमा आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको दोस्रो बैठकले छिमेकी मुलुकमा समेत फैलिएको कोभिड–१९ नेपालमा भित्रिनसक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अपनाइने समितिका संयोजक पोखरेलले जानकारी दिए । रक्षामन्त्री पोखरेलले बाहिरबाट आएकाहरुलाई व्यवस्थित र ठीक ढङ्गले जाँच गर्ने, सङ्क्रमण प्रभावित व्यक्ति भरसक आउन नदिने र जनसचेतना कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइने बताए ।” उनले बैठकमा यसअघि गरिएका प्रयासका विषयमा समीक्षा गरिएको जानकारी पनि दिए ।
छिमेकी मुलुकसहित विश्वका ८४ देशमा कोभिड–१९ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ जनामा रोग देखिएकामा तीन हजार २८५ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० जना उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा गत माघ ९ गते चीनको सबैभन्दा बढी सङ्क्रमण फैलिएको उहान प्रान्तबाट आएका एक जनामा सङ्क्रमण देखिएको थियो । उनी अहिले कोरोनामुक्त रहेको र त्यसपछि अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोनासँग सम्बन्धित काममा बढी ध्यान दिनसमेत बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले यसअघि नै धेरै सङ्ख्यामा उपस्थित भएर गरिने कार्यक्रम नगर्न भनिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ । बजारमा मास्क अभाव हुने सम्भावना रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घसँगको समन्वयमा तत्कालै उत्पादन गर्ने विषयमा सरकार गम्भीर रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।
















प्रतिक्रिया