Logo

पोस्टपेड ग्राहक अन्यौलमा परेपछि टेलिकमले लियो यस्तो सुविधा, रेन्टल चार्जवापतको रकमले पनि प्याक खरिद गर्नसकिने 



नेपाल टेलिकमले उपलब्ध गराइरहेको जीएसएम पोस्टपेड मोबाइलको बिलिङ प्रणालीका सम्बन्धमा प्रयोगकर्ताहरुलाई प्रष्ट जानकारी उपलब्ध हुन आवश्यक देखिएको छ । 

पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम रु. ३८३.०७ रेण्टल शुल्क तिर्नुपर्दछ । यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रेण्टलवापत रु. ३८३.०७ नै तिर्नुपर्छ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको र अहिले पनि सोही नै कायम रहेको कम्पनीले जनाएको छ । यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिन्छ । 

पछिल्लो समयमा नेपाल टेलिकमले विभिन्न किसिमका प्याकेजहरु सञ्चालनमा ल्याएको छ । ग्राहकले यी सेवा प्रयोग गर्दा यो रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिन्छ । सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको पनि देखिएको छ । 

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गरिन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौं, कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ । कम्पनीको जिएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने भएतापनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेको पाइएको टेलिकमले जनाएको छ । 
उदाहरणका लागि, कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु. २०० को प्याक प्रयोग गरेको छ भने प्याक वापतको रु. २०० र रेन्टल चार्ज वापतको रु. ३८३.०७ गरी रु. ५८३.०७ तिर्नुपर्छ । मानौ, १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम रु. ४०० थियो भने सो रकम समेत काटिएर थप रु. १८३.०७ समेत तिर्नुपर्ने हुन्छ ।

पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ । पोस्टपेड प्याक लिंदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना हुँदैन । सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ । पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाटै आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ। 

नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै रेण्टल चार्ज समेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जिएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा गरिएको छ ।  

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १५:३५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।