Logo

ब्रोकर कमिशन घट्ने संकेतपछि सेयरबजारमा रौनक, के अब अझै बढ्ला त नेप्से ? 



ओपनिङ्ग समयदेखि नै बढ्दो ट्रेनमा देखिएको सेयर बजारमा आज एक किसिमको रौनक देखिएको छ । कारोबार रकमले सात अर्ब काटेको छ भने नेप्से परिसूचकले ५६ दशमलव ७२ अंकले बढेर २०६७ को बिन्दू पार गरेको हो । नेप्सेको यो विन्दू कायम हुँदा यो साताको पहिलो दुई कारोबार दिनमा नै नेप्से सय अंक बढीले बढेको हो । 
यसो त सेयर बजारको आजको रौनकलाई धेरैले अब बजार बढ्ने संकेतको रुपमा लिएका छन् । हिजोको दिनमात्रै ब्रोकर कमिशन घट्ने सकरात्मक सुचना आएसँगै आजको दिन सेयर बजारमा ७ अर्ब बढीको कारोबार भएको हो । नेपाल धितोपत्र बोर्डको आन्तरीक स्रोतले आइतबार अब ब्रोकर कमिशन घट्ने संकेत दिएको हो । हाल व्यक्तिगत कारणले अमेरिका पुगेका बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पुस पहिलो हप्ता अर्थात ६ गते नेपाल र्फकने भएका छन् । उनी नेपाल फर्किएसँगै ब्रोकर कमिशन घट्ने छ । सकेसम्म घटित कमिशन पुसको दोस्रो हप्तादेखि नै लागु हुनेछ । 

अध्यक्ष ढुंगाना ढाकाल बाहिर भएपनि यता ब्रोकर कमिशन घटाउने तयारी भएको स्रोतले जनाएको छ । अर्थमन्त्रालयले पनि तत्काल ब्रोकर कमिसन घटाउन ताकेता गरिरहेको छ । दैनिक २०।२२ करोड रुपैयाँको सेयर कारोबार हुने समयमा तोकिएको ब्रोकर कमिसन हाल दैनिक ७–८ अर्बको कारोबार हुँदा पनि सोही नै कायमै छ । जसले गर्दा यता लगानीकर्ता सम्बद्ध पाँच वटै संगठनहरुले ब्रोकर कमिसन ०।२५ प्रतिशत बनाउनुपर्ने साझा धारणा तय गरेर दबाव मुलक कार्यक्रम चलाईरहँदा बोर्डको तयारी पनि भइरहेको छ ।

बोर्डले पनि ब्रोकर कमिसन पुनरावलोकनका लागि उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । सो कार्यदलले आफ्नो प्रतिवेदन बुझाईसकेको छ । र त्यसमा ब्रोकर कमिसन घटाउनुपर्ने निष्कर्ष निकालेको छ । हाल ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा ०.५५ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबारमा ०.४५ प्रतिशत र एक करोड भन्दा बढीको सेयर कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन लाग्छ । 

यसो त यता कोडिभको प्रभाव स्वरुप बैंकमा तरलता अझैपनि प्रशस्त रहेको पाइन्छ । हिजोमात्र एनआईसी एसिया बैंकले मुद्दती निक्षपको ब्याजदर ह्वात्तै घटाएर सबैभन्दा सस्तो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यसले गर्दापनि लगानीकर्ताको ध्यान बैंक वित्तिय क्षेत्रमा भन्दा पनि सेयर बजारमा गएको हो । साथै यसले पुराना लगानीकर्तालाई मनोबल बढाएको छ भने पैसा भएका तर लगानी गर्ने ठाउँ तथा वातावरण नमिलेकाहरु जो बैंकमा पैसा जम्मा गरेर ब्याजदर खान चाहन्थे उनीहरु पनि विकल्प खोज्दै सेयर बजारमा केन्द्रित भएका छन् । 

यसो त यहि मंसिर १४ गते नेप्सेले अहिलेसम्मकै उच्च विन्दू कायम गरेको हो । लगत्तै धितोपत्र बोर्डले सजग भएर लगानीगर्न भन्दै विज्ञप्ति निकाल्यो जसले गर्दा लगानीकर्ता विचोलीए फलस्वरुप मंसिर २१ गते नेप्सेमा १२३ अंकको पहिरो गयो ।

बजार बढ्नु र सेबोनले सजग भएर लगानीगर्न भन्नु,यसैबिचमा लगानीकर्ताकहरु ब्रोकर कमिशन घटाउन भन्दै सोबोन पुग्नु र लगत्तै बजार घट्नुले बोर्डबाट नै एक विचलियाको काम भईरहेको हो कि भन्ने शंका समेत भयो । ‘ बजार बढ्दा मात्रै विज्ञप्ति निकाल्ने घट्दा ननिकाल्ने, के बजार बढ्दा मात्रै लगानीकर्ता सजग हुनुपर्ने हो?, फेरी विज्ञप्ति निकाल्दा पनि कालोधन हो कि कतै भन्न समेत बोर्ड पछि नपर्दा लागनीकर्ता झसंङ्ग हुन पुग्छन्, नियमक निकायले त लगानीर्तालाई प्रोत्साहन पूर्वक सजग हुन भन्नुपर्ने हो तर यहाँ त डर देखाइन्छ ?’ ‘ सेबोनले मुल्य तोक्ने हैन बजारमा मुल्य आफै खरिद र बिक्रि मार्फत निर्धारण हुन्छ’ भन्ने जस्ता टिकाटिप्पडीहरु पनि भएका हुन् । 
एद्यपी अब भने नेप्से बढ्ने ट्रेनमा नै देखिन्छ, यो समय भनेको लगानीकर्ताको खेति भित्राउने समय हो । धेरै बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरिरहेका छन् भने कतिले गर्दै छन्, तसर्थ लगानीकर्ता अझै बजारमा एक्टीभ भएर लाग्ने देखिन्छ । 
 

प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार  ५ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।