सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सरकारले राष्ट्रपतिलाई सिफारिसपछि जारी भएको अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकले कुनै पनि निर्णय नगरेको जानकारी गराएका थिए । त्यस्तै उनले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी पनि गराएका थिए ।
बैठकले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै पुस ५ गते बोलाइएको केन्द्रीय कमिटी बैठक १० गतेसम्मका लागि स्थगित गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ भने स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओलीले पार्टी सहमति बेगर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । नेकपाभित्र अध्यक्षद्व ओली र प्रचण्डले छुट्टाछुट्टै रुपमा पेश गरेको प्रस्ताव फिर्ता लिने र अर्को बैठकमा दुई अध्यक्षको तर्फबाट एउटै प्रस्ताव लाने सहमति पनि भएको बुझिएको छ ।
प्रतिक्रिया