नेपाल उद्योग महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश समितिको निर्वाचन दश दिनभित्रै सम्पन्न गर्ने बताएका छन् । नेपाल आवास तथा जग्गा विकास संघले आयोजना गरेको नवनिर्वाचित पदाधिकारी तथा वस्तुगत संघका सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले आफुले कार्यभार सम्हालेदेखि नै समयतालिका बनाएर काम गर्न सुरु गरेको भन्दै हप्ता दश दिनभित्रै निर्वाचन सम्पन्न गर्ने बताए ।
उनले सचिवालय सुधार र महासंघको पारदर्शिताका लागि टाइमलाइन बनाइसकेको बताउँदै बुधबार मात्रै सचिवालयमा डेपुटी कार्यकारी निर्देशक नियुक्त गरेको समेत जानकारी दिए ।
उनले आफु महासंघमा फोटो झुण्ड्याउन मात्रै आएको नभई महासंघमा नतिजा आउनेगरी काम गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले चुनावको अवधिसम्म आफूहरु डटेर चुनाव लडेको भन्दै अहिले एकताको सन्देश दिन सफल भएको बताए ।
महासंघको इतिहासमै शतप्रतिशत मत खसेर निर्वाचन सम्पन्न भएको र निर्वाचनमा डटेर लागे पनि निर्वाचन सकिनेबित्तिकै महासंघमा एकताको सन्देश दिन सफल भएको भन्दै अब महासंघ मात्रै नभएर सम्पूर्ण निजी क्षेत्रलाई समेट्नेगरी भिजन पेपर बनाउने तयारी गरिएको उनको भनाइ छ ।
यो भिजन पेपरको मुख्य उद्देश्य दोहोरो अंकको आर्थिक वृद्धि गर्ने भएको समेत बताए । उनले फरक फरक व्यवसायी संघले अलग अलग एजेन्डा बोल्ने हो भने निजी क्षेत्रको माग सरकारले कहिलै पूरा नगर्ने गोल्छाको दाबी छ ।
उनले व्यवसायीहरुको ९० प्रतिशत माग एउटै भएको भन्दै समान एजेन्डामा कार्यगत एकता गरेर जाने प्रक्रिया सुरु गरिसकेको समेत बताए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने नजर अझै परिवर्तन नभएको भन्दै यसमा परिवर्तन ल्याउन सबै व्यवसायीको संयुक्त प्रयासको खाँचो रहेको बताए ।
त्यसका लागि अरु व्यवसायी महासंघहरुसँग छलफल थालिसकेको र वस्तुगत संघका धारणाहरुलाई केन्द्रीकृत रुपमा सरकारसँग राख्नुपर्नेमा जोड दिए ।
महासंघ वस्तुगत समूहका उपाध्यक्ष अञ्जन श्रेष्ठले पनि महासंघ अब एकढिक्का भइसकेको भन्दै अब व्यवसायिक हितका विषयमाथि साझा धारणा बनाएर जाने बताए ।
उक्त कार्यक्रममा जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठले बस्तुगत संघमा १ सय ३ जना सदस्यमध्ये कार्यसमितिमा १४ जना निर्वाचित भएको भन्दै विषयगत क्लष्टर बनाएर प्रत्येक सदस्यलाई संघको आवाज महासंघसम्म ल्याउने वातावरण बनाउनुपर्ने बताए । उनले कार्यसमिति सदस्यको हैसियतमा आफुले महासंघलाई वस्तुगत संघको एजेन्डामा महासंघलाई घच्घच्याइरहने प्रतिवद्वता समेत व्यक्त गरे ।
Related
प्रतिक्रिया