Logo

राजनीति

माधव नेपाललाई ओलीको प्रस्तावः हामी मिलेर प्रचण्डलाई एक्ल्याइदिऔं



नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादी खेमालाई एक्ल्याउने प्रस्ताव माधवकुमार नेपाल पक्षसमक्ष राखेका छन् । ओली र नेपाल पक्षधर नेताहरुको बैठक नेपालनिवास कोटेश्वरमा जारी छ । ओली र नेपालबीच सोमबार बिहान बालुवाटारमा एक्लाएक्लै वार्ता भएको केही घण्टापछि नेपाल निवासमा दुई पक्षबीच वार्ता भएको हो ।

वार्तामा ओलीपक्षका ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल सहभागी छन् । यस्तै अर्को पक्षबाट नेता नेपाल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत सहभागी छन् । पार्टीमा छलफल नगरी रानजीतिक दल विभाजन र न्यायपरिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा ओलीवरुद्ध मोर्चाबन्दी भएको छ । सचिवालयका ९ मध्ये ६ नेता ओलीविरोधी कित्तामा एकताबद्ध भएका छन् ।

२० स्थायी समिति सदस्यले सरकारको कामबारे समीक्षा गर्न स्थायी समिति बैठक बोलाउन पार्टीका दुई अध्यक्षसमक्ष लिखित निवेदन दिएका थिए । तर, ओली स्थायी समितिमा आफूविरुद्ध बहुमत रहेको र सरकारबाट फिर्ता बोलाउन निर्देशन दिन सक्ने भयका कारण बैठक टार्ने रणनीतिमा छन् ।

आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मात्र स्थायी समिति बैठक राख्न सकिने ओलीको भनाइ छ । तर, अरु नेता सहमत भएका छैनन् । स्रोतका अनुसार ओलीले प्रचण्ड र माधव नेपालबीचको सहकार्य तोड्न नेपालसँग हात अघि बढाएका छन् ।

पूर्वएमाले मिलेर पूर्वमाओवादीलाई एक्ल्याउने प्रस्ताव आएको तर, त्यसमा नेपाल पुरै सहमत भएका छैनन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १७:५२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।