Logo

राजनीति

प्रधानमन्त्रीकै सल्लाहकारले लज्जाशरणम् भनेपछि…



प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाकै टुइटरमा टुइटभए अनुसार सरकार नेतृत्व संचालनमा सकस देखियो । सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध चलखेल ! लज्जाशरणम् ! भनियो । कामकुरो एकातिर कुम्लो बोकी ठीमीतिर भनेझैँ कोरोना विरुद्ध लड्नुपर्ने प्रधानमन्त्री ओली दल फुटाएर मधेसी दलमा रमिता दखाउँछु भन्दा आफै खाल्डोमा परे ।

अध्यादेश मार्फत लोकतन्त्र कमजोर पार्ने गम्भीर षड्यन्त्रमा लागेको भन्दै पार्टी भित्रै आलोचना चुलियो । अब पार्टी भित्र यो सकस पन्छाउन ओलीलाई मात्र होइन सिंगो नेकपालाई हम्मेहम्मे हुनेछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्यूत गर्ने खेल सुरु भएको छताछुल्ल भएको छ ।

दुईतिहाईको सरकारलाई प्रमुख प्रतिपक्ष दलले ढलाउन खोजेको भने पक्कै होइन् । सत्ताधारीका अधिकांश नेताहरुले पार्टीको स्थायी कमिटी बैठक डाक्न गरेको मागलाई ओलीले बेवास्ता गर्न थालेको भन्दै अब उहाँलाई पदबाटै हटाउने अभियान चुलिएको छ ।

सरकारले गर्दा पार्टी बद्नाम भएको अध्यादेशका सम्बन्धमा स्थायी कमिटीका २० सदस्यले तत्काल स्थायी कमिटी बैठक डाक्न माग गर्दै दुवै अध्यक्षलाई पत्र बुझाए । अझै स्थायी कमिटी छल्ने सुर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको छ ।

कार्यकारी अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेलको भैंसेपाटीमा बसेको बैठकले तत्काल अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठकमा अध्यादेश आवश्यक भएरै ल्याएको तर पार्टीभित्र र बाहिरबाट विरोध भएका कारण फिर्ता लिएको मात्र भनेनन् । साथीहरुले मेरो कुरा बुझेनन् समेत भन्न भ्याए ।

बामदेव गौतम लगायतका कतिपय नेताहरुले ओलीलाई राजीनामा दिएर आराम गर्न सुझाव दिएपनि प्रधानमन्त्री ओली आफ्नो ओरालो राजनीतिक यात्राका बिचमा पन्छिने योजना फिटिक्कै नभएको जनाउ दिएका छन् । स्थायी कमिटि बैठकमा ओलीलाई राजीनामाका लागि पर्याप्त दबाब सृजना गर्ने तयारी पार्टीभित्र भइरहेको छ ।

त्यसैले पनि पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले स्थायी कमिटि बैठक छल्ने प्रयास गरिरहनुभएको बुझिएको छ । तर ओलीले बैठक डाक्न नचाहे अर्का अध्यक्ष पुष्पकमल दाहालमार्फत भए पनि स्थायी कमिटि बैठक बस्नुपर्ने माग नेताहरुको छ ।

नेता बेदुराम भुषालले ओलीले नमाने दाहालले बैठक डाक्नुपर्ने धारणा राखेका थिए । पार्टीभित्र मात्रै होइन पार्टीबाहिर पनि प्रधानमन्त्री ओली अलोकप्रिय बन्दै गएका छन् । विपक्षी पार्टी फुटाउन प्रधानमन्त्रीकै संलग्नतामा सांसद अपहरण जस्तो कृत्य हुन थालेपछि सत्ताबाहिरका थुप्रै नेताहरुले पनि उनको राजीनामाको माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनकै शब्दमा ओलीलाई निकम्मा प्रधानमन्त्रीको संज्ञा दिएका छन् । लोकतन्त्रको चीरहरणमा संलग्न ओलीले नैतिकताले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउनुपर्ने नभए जनसंघर्षमार्फत ओलीलाई सत्ताबाट हटाउनुपर्ने बेला आएको डा.भट्टराईको तर्क थियो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि प्रधानमन्त्री ओलीलाई राजीनामाको सुझाव दिएका छन् । प्रधानमन्त्रीका पछिल्ला गतिविधिका कारण उनलाई पदमा बसिरहने नैतिकता नरहको डा. लोहनीकोे तर्क छ । उनले नैतिकताको प्रश्न कार्यकारी शक्तिको भन्दा निकै माथि रहने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब बढिरहेका बेला उनकै प्रेस सल्लाहकार सूर्य थापाले षडयन्त्रका तानाबाना बुन्ने कार्य भइरहेको बताएका छन् । पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरूको पराकाष्ठा देखिएको उल्लेख गर्दै उनले सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध चलखेल भइरहेको धारणा सामाजिक सञ्जालमार्फत ब्यक्त गरेका हुन् ।

यसबाट पनि नेकपाभित्र ओली सरकार ढाल्ने कसरतले तीव्रता पाएको संकेत मिल्छ । यस्तो लेखे सुर्य थापाले टुइटरमा हङ्ग पार्लियामेन्ट भयो भनी नेपाली जनताले दुई तिहाईमा नेकपालाई जिताइदिए, हङ्ग पार्टी पो भएछ !

भागबन्डाको दुष्परिणाम, जनमतको घोर अपमान। पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरूको पराकाष्ठा । सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल !
लज्जाशरणम् !

अध्यादेसले ब्यक्तिगत तनाबमा सांसद डा. सुरेन्द्र यादव

अध्यादेसले ब्यक्तिगत रुपमा सांसद डा. सुरेन्द्र यादवलाई निकै तनाब गरायो । अध्यादेसले आफु असुरक्षित रहेको सम्म बताए सांसद डा. सुरेन्द्र यादवले । सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्वआइजिपी सर्वेन्द्र खनालको रस्साकस्सीले उनी रातारात काठमाडौं ल्याइएका हुन् ।

नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित खेल यस्तो

सत्ता संर्घष चलिरहँदा नेकपाभित्र कस्को पक्षमा कति सांसद, सचिवालय, स्थायी र केन्द्रीय सदस्य छन् भन्ने गणना हुन थालेको छ । बेमौसमको अध्यादेशका कारण नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित खेल सुरु भएको हो ।

प्रधानमन्त्री ओली निकटस्थहरुले संसदमा उनी पक्षधरको पूर्ण बहुमतको दाबी गर्दै आएका छन् । ८२ सांसद ओलीको पक्षमा रहेकाले कसैले हल्लाउन नसक्ने बताउदै आएका छन् । तर, परिस्थिति बदलिदै गएको छ ।

सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा आफूसहित तीनजना छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल ओलीको पक्षमा देखिएका छन् । प्रचण्डका पक्षमा नारायणकाजी स्पष्ट देखिए पनि रामबहादुर थापा बादलको भर छैन् । तैपनि प्रचण्डको पक्षमा आफूसहित कुल ३ जनाको गणना भएको छ ।

ओलीविरोधी तप्कामा देखिएका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल एक्ला एक्लै छन् । स्थायी समितिको ४५ मध्ये ३२ जना प्रचण्ड र माधव नेपाल पक्षधर छन् । पूर्व माओवादीबाट १९ र नेपाल पक्षका १४ छन् । नेकपा एकीकरणपछि स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी पक्षबाट १९ जना मनोनित गरिएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट स्थायी समिति सदस्यहरु देव गुरुङ,टोपबहादुर रायमाझी, जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन,शक्ति बस्नेत,मात्रिका प्रसाद यादव, गणेश शाह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा छन्।

माधव निकट स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य,भीम रावल,युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त,भीम आचार्य, गोकर्ण विष्ट, बेदुराम भुसाल हुन् । पूर्व माओवादी छाडेर अन्य दलमा गएकाहरुलाई भित्राएसँगै केन्द्रीय समितिमा पूर्व माओवादीको ४३ प्रतिशत सदस्य रहेको दावी प्रचण्डइतरहरुको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १८:१६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।