Logo

राजनीति

गाैतमलाई ओलीले अंग्रेजी नजान्ने भनेपछि…



आइतबारका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक दोस्रो पटक पनि स्थगित भएको छ । अपरान्ह ४ बजेलाई बोलाइएको बैठक करिब ३ बजेमात्रै स्थगित भएको सूचना सदस्यहरुलाई पठाइएको थियो । अचानक बैठक स्थगित भएपछि सदस्यहरु अचम्ममा पर्नु स्वभाविक थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको भन्दै अन्य विषयमा जानकारी नभएको प्रतिकृया दिए ।

आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्ने पूर्व निर्धारित एजेण्डा थियो । त्यसका लागि सचिवालय सदस्यबाहेक परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भीम रावल र अर्थमन्त्री युवराज खतिवडालाई समेत बैठकमा बोलाइएको थियो ।

एमसीसीबारे नेकपामा एकमत छैन । एमसीसीको मूल सम्झौताका झण्डै एक दर्जन बुँदा राष्ट्रहित विपरित रहेकाले ति बुँदा संशोधन गरेर मात्रै स्वीकार्नुपर्ने सुझावसहितको प्रतिवेदन बरिष्ट नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले यसअघि नै दिएको थियो ।

यहीँ सुझावसहितको प्रतिवेदनका आधारमा अघि बढ्नुपर्ने नेकपाका केन्द्रीय समिति, स्थायी समिति र सचिवालयका बहुमत नेताहरुको भनाइ छ । तर, प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अघिल्लो सरकारले गरेको सम्झौता अभिछिन्न उत्तराधिकारका रुपमा आएको सरकारले सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका छन् । उनले यसबारे संसदमै पनि अभिछिन्न उत्तराधिकारको प्रशङ्ग कोट्याउँदै एमसीसी अनुमोदन गर्ने नगर्ने संसदको भएको बताइसकेका छन् । सोही कारण उनले यसबारे नेताहरुले पटक–पटक बैठकको माग गर्दा समेत अनेक बहानमा कहिले बैठक बस्दाबस्दै छोड्ने त कहिले टार्ने र कहिले अल्मल्याउने प्रयास गरिरहेका छन् ।

यसअघि पनि गत बुधबार बोलाइएको सचिवालय बैठक स्थगित गरिएको थियो । कारणबिनै पटक–पटक बैठक स्थगित भएको भन्दै एक सचिवालय सदस्यले आक्रोस पोखे । उनले भने, ‘यो त अति भो !’ नेकपाको नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । त्यही भएर उनले नेताहरु फकाउने प्रयास गरिरहन्छन् ।

गौतम फकाउने प्रयास असफल

एमसीसीबारे सचिवालयका बहुमत सदस्यहरु सकारात्मक छैनन् । तर ओली अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत ख्याल गरेर उक्त सम्झौता स्वीकार गर्नुपर्ने दबाबमा छन् । त्यसका लागि उनले पहिला सचिवालयमा बहुमत पुर्याउने कसरत गर्दै आएका छन् ।

पहिलो चरणमा उपाध्यक्ष वामदेव गौतमलाई एमसीसीको पक्षमा ल्याउने प्रयास गरेका ओलीले त्यो प्रयासपछि गृहमन्त्री थापालाई समेत फकाउने योजना बनाएका थिए । तर गौतम नै आफ्नो पक्षमा नआएपछि ओलीको योजना सफल हुन सकिरहेको छैन । गत साता मात्रै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गौतमलाई बालुवाटार बोलाएर फकाउने प्रयास गरे ।

‘अप्ठेरो पर्दा मलाई सहयोग गर्ने तपाईं नै हो । अहिले पनि मलाई सहयोग गर्नुस् एमसीसी पास गरौँ पार्टीमा विवाद छैन भन्ने सन्देश दिऔँ’ ओलीले गौतमको साथ यसरी मागेका थिए । तर, गौतमले भने राष्ट्रियताको सवालमा आफू कुनै विषयमा कम्प्रमाइज गर्न नसक्ने र अधिकांश नेताको भावना र कार्यदलको प्रतिवेदनको भावनाको समेत विपरित जान नसक्ने जवाफ दिएर बालुवाटारबाट फर्केका थिए ।

पछिल्लो समय एमसीसीको विषय पेचिलो बन्दै गएपछि प्रधानमन्त्री ओली एमसीसी सम्झौता गर्दा शेरबहादुर देउवा र प्रचण्डको संयुक्त सरकार रहेकोले उनीहरु नै त्यसको बढि जिम्मेवार हुनुपर्ने समेत आफु निकटकाहरुलाई भन्न थालेका छन् ।

तपाईंलाई अंग्रजी नै आउँदैन केको प्रधानमन्त्री ?

पार्टीमा एमसीसी प्रकरण पेचिलो बनिरहेका बेला केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष समेत रहेका गौतमलाई बालुवाटार बोलाए । कहिले प्रधानमन्त्री त कहिले राष्ट्रियसभा सदस्य बन्ने भनेर चर्चामा आउने गौतम ओलीले बोलाएपछि बालुवाटार पुग्ने नै भए । जब गौतम बालुवाटार पुगे ओली र गौतमबीच अन्तरंग कुराकानी सुरु भयो । त्यसक्रममा तत्कालिन एमाले माले हुदै अहिलेको नेकपा बन्दा सम्मका कुराकानी भए । यसमा एकले अर्कोलाई सहयोग गर्दै अघि बढेको ओलीले गौतमलाई स्मरण गराए ।

प्रमओलीले यस्तो कुरा गरेपछि गौतमले पनि आफूलाई पहिला प्रधानमन्त्री बनाउँछु भनेर दिएको आश्वसन ओलीलाई स्मरण गराएका थिए । त्यसक्रममा गौतमले आफूलाई सधै आश्वसन दिने तर पूरा नगर्ने भन्दै गुनासो मात्रै गरेनन्, अझ अघि बढ्दै भने, ‘तपाईं कहिले प्रधानमन्त्री बनाउँछु भन्नुहुन्छ, कहिले राष्ट्रियसभामा लैजान्छु भन्नुहुन्छ तर पार लगाउने गरी केही काम गर्नुहुन्न ।’

गौतमले यसो भन्ना साथ ओलीले रमाइलो जवाफ दिएका थिए । ‘तपाईंलाई अङ्ग्रजी नै आउँदैन । अङ्ग्रेजी नआउने मान्छे अहिलेको जमानामा कसरी प्रधानमन्त्री बन्छ ?’

ओलीको यस्तो प्रतिकृया पाएपछि गौतमले पनि ‘तपाईं कुन चाहिँ अंग्रेजी जान्ने हो र ? उखान टुक्काका भरमा चाहिँ सधैँ देश चल्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । ओली गौतमबीचको यस्तो सवाल जवाफपछि गौतमले आफूलाई ओलीले यस्तोसम्म व्यवहार गरे भन्दै सचिवालयका अन्य सदस्यसँग गुनासो गरेका थिए ।

प्रकाशित मिति : असार २, २०७७ मंगलबार  ११ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।