Logo

राजनीति

१० गतेपछि फेरि पूर्ण लकडाउन हुने हल्ला चलेपछि सरकारले मुख खोल्यो



असार १० गतेपछि फेरी पूर्ण लकडाउन हुने हल्ला चलेपछि सरकारले मुख खोलेको छ । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ ।

कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए । ‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र लकडाउनका नियम सबैले पालना गर्नुपर्ने उनले बताए ।

उनकाअनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने एवं उपप्रधानमन्त्री पोखरेलले बताए ।

लकडाउन खुकुलो भयो भन्दैमा भिडभाड गर्ने, लापरवाहीपूर्ण जीवनशैली अपनाउने र सरकारका निर्देशन पालना नगर्दा आफैंलाई असर पर्नेतर्फ सचेत हुन सरकारले आग्रह गरेको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्न आवागमन बढ्ने र प्रत्येक सवारी साधनमा प्रहरी सुरक्षाकर्मी राखेर सञ्चालन गर्न पनि गाह्रो हुने भएकाले केही समय हेरेरमात्र ठाउँ अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी सरकारको छ । स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अझै पनि सञ्चालन नहुने उपप्रधानमत्री पोखरेलले बताए ।

उनकाअनुसार सार्वजिनक सभा समारोह पनि गर्न पाइँदैन । सरकारले गरेका निर्णय पूर्ण पालना नगर्दा आफैं जोखिममा पर्ने यथार्थ बुझ्न उनले आग्रह गरे । अहिलेसम्म संक्रमण भारत र तेस्रो मुुलुकबाट आएकाहरुमा मात्र देखिएको र समुदायमा नफैलिएको हुनाले यो अवस्था कायमै राख्नु चुनौतिपूर्ण रहेको सरकारको बुझाइ छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार ०९:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।