पार्टीको आन्तरिक समस्या सुल्झाउन गत असार १० गतेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक नयाँ मोडमा प्रवेश गरेको छ । पार्टीभित्रको विवाद अब स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा सर्ने भएको छ ।
विहीबार बेलुका लगभग एकैसाथ प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा दुई समूहका बेग्लाबेग्लै बैठकहरु भए । सचिवालय र स्थायी कमिटीका बहुमत सदस्य सम्मिलित खुमलटार बैठकले भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउने निचोड निकालेको छ । बालुवाटार बैठकको रणनीति भने रातिसम्म बाहिर आइसकेको छैन ।
खुमलटार भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार विहीबार दिउँसो बालुवाटारमा तीन नेतावीच भएको छलफलमा भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत भएका छन् ।
प्रधानमन्त्री ओलीसमेत बैठक बोलाउन सहमत भएको भन्दै प्रचण्ड र माधव नेपालले खुमलटार भेलामा आगामी भदौमा केन्द्रीय कमिटीको बैठक राखौं भन्ने प्रस्ताव गरेको ती नेताले बताए ।
असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन । दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै साउन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न विहीबार दिउँसो कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए ।
बालुवाटारको छलफलमा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओलीलाई समस्या समाधानका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तपाईकै कारण सरकार र पार्टी दुबै बदनाम भयो भन्दै नेताद्वयले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने अडान राखेका थिए ।
प्रधानमन्त्री आफ्नै अडानमा कायम रहेपछि केन्द्रीय कमिटीको बैठकमा जाने सहमति भएको नेताहरु बताउँछन् । त्यसलगत्तै माधव नेपाल र प्रचण्ड समूहका नेताहरु बेलुका खुमलटारमा भेला भए ।
सचिवालय र स्थायी कमिटीका बहुमत नेताहरुको सो भेलाले अब केन्द्रीय कमिटीको बैठक बोलाउने र स्थायी कमिटीमा विचाराधीन एजेण्डाहरु केन्द्रीय कमिटीमा लैजाने निश्कर्ष निकालेको सहभागी एक नेताले बताए । ‘अब भोलि बस्ने स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्छ’ ती नेताले भने, ‘स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका एजेण्डामाथि अब केन्द्रीय कमिटीमै छलफल हुन्छ ।’
स्थायी कमिटीको बैठकले कोरोना रोकथामसम्बन्धी सरकारले गरेका कामको समीक्षा सरकारको मूल्यांकन, पार्टी कामहरुको समीक्षा, एमसीसी सम्झौता, नागरिकता विधेयक, सीमा समस्या आदि एजेण्डाहरु तय गरेको थियो ।
सीमा समस्याबारे एक दिन छलफल भए पनि अरु एजेण्डामा अहिलेसम्म छलफलै हुन नसकी स्थायी कमिटी बैठक लगभग असफल बनेको छ ।
स्थायी कमिटीको बैठक चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजक अभिव्यक्तिका कारण बैठक भाँडिएको हो । प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन खोजेको र पार्टीकै नेताहरु त्यस खेलमा लागेको अभिव्यक्ति दिएपछि स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । त्यसयता बैठक रोकेर ओली र प्रचण्डवीच पटक(पटक छलफल भयो । तर, आजसम्म सहमति जुट्न सकेन । बरु यसवीचमा भगवान रामको जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएर प्रधानमन्त्री ओली थप विवादमा तानिए ।
















प्रतिक्रिया