नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सहमतिबिमुख हुन थालेको छ । सरकारी निवास बालुवाटारमा विहीबार भएको नेता माधवकुमार नेपालसहितको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतले फेरि प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुवै पदबाट राजीनामा माग गरेको बताइएको छ ।
बैठकमा महासचिव विष्णु पौडेलको पनि सहभागीता रहेको बताइए पनि थप विवरण आउन सकेको छैन ।
प्रचण्ड–नेपाल पक्षधर सचिवालय सदस्यको खुमलटारमा भएको बैठकको एजेन्डा अनुसारै प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा माग गरिएको हो । विहीबार नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम र रामबहादुर थापाको बैठक भएको बताइएको छ ।
तत्काल केन्द्रीय समिति बोलाउनुपर्ने प्रचण्ड-नेपाल समूहको निष्कर्ष
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा नेता माधव कुमार नेपाल समूहको छलफलले केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा सहमति नभएपछि बसेको प्रचण्ड र नेपाल समूहको छलफलले केन्द्रीय समितिको बैठक राख्नुपर्ने बताएको हो ।
पार्टीको गतिरोध अन्त्यका लागि बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलमा सहमति नजुटेपछि प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका थिए ।
उनीहरुले झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल)सहित छलफल गरेका थिए । खुमलटार स्रोतका अनुसार नेताहरुबीच सहमति नभएपछि तत्काल केन्द्रीय समिति बोलाउनुपर्ने माग उठेको बताइएको छ ।
छलफलमा भोलि बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्न जनाइएको छ ।
















प्रतिक्रिया