नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले ओली सरकारले देशमा अस्थिरताको बिजारोपण गरेको आरोप लगाएकी छिन् ।
उनले भनिन्, आफ्नै पार्टी भित्रको किचलो समाधान गर्न नसकेर नेपाली जनताको सार्वभौम संस्था, संसद, विघटन गर्ने ओली सरकारको अलोकतान्त्रिक तथा असंवैधानिक कार्यको म कडा विरोध गर्दछु । तीन वर्ष अघि जनताले दिएको अभिमतमाथि खेलवाड गर्दै झन्डै दुइ तिहाई बहुमतको कम्युनिष्ट सरकारले देशमा अस्थिरताको बीजारोपण गरेको छ । एउटा प्रजातान्त्रिक पार्टीको रुपमा जनता सामू जान हामी जहिले पनि तयार छौं ।
भ्रस्टाचार र कुशासनमा चुर्लुम्म डुबेको यो सरकारबाट कहिले मुक्ति पाइएला भनेर आम नेपाली दिनगन्ती गरेर बसेका छन्। कोरोनाको कहर खेपी रहेका जनताको पीडामा मल्हम लगाउने त कुरै छाडौं, यो सरकार भ्रस्टाचारमा लिप्त रह्यो । विदेशमा अलपत्र परेका दशौँ हजार नेपालीलाई स्वदेश फर्काउन हामीले माग गर्दा महँगो चार्टर्ड उडान चलाएर कमिशन खान व्यस्त रह्यो । संसद विघटन गर्ने प्रधानमंत्रीको एकल निर्णय माथि सहीछाप गरेर राष्ट्रपति जस्तो संस्थाले आफ्नो अवमूल्यन गरेको छ।
ओलीको कदमले देशको न्यायिक निकाय, सर्वोच्च अदालत, लाई पनि विवादमा तान्ने निश्चित छ । त्यसैले संविधानको मर्म र भावना अनुरुप आफ्नो सार्बभौम अधिकारको रक्षागर्न र लोकतन्त्रको रक्षार्थ नेपाली जनता अब उठ्ने बेला आएको छ ।




















प्रतिक्रिया