Logo

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन



जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो । 

पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा रु तीन लाख आठ हजार ५०० राजस्व जम्मा भएको हो । उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन् । बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् । अघिल्लो आवमा रु छ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ । 

यस्तै पछिल्लो छ महिनाको अवधिमा सात वटा दुर्घटना भएका छन् । ट्र्याक्टर तीन, जीप तीन र एउटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई पुरुषको ज्यान गएको सात जना घाइते भएको बताइएको छ । 

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०९:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।