नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा निकट नेताहरुले संसद् विघटन प्रतिगामी कदम भएको बताएका छन् ।
सोमबार गृहमन्त्री निवास पुलचोकमा थापा निकट नेताहरुको भेलाले यस्तो निर्णय गरेको हो ।
गृहमन्त्री थापा प्रधानमन्त्री ओली र प्रचण्ड दाहाल दुवै गुटमा नलागे मौन बस्दै आएका थिए । तर गम्भीर र असंवैधानिक राजनीतिक घटनामा मुकदर्शक भएर बस्न नहुने भन्दै आज सो निर्णय गरेका हुन् । तर, समूहका नेता थापाले भने समग्र परामर्शपछि मात्र यस विषयमा अन्तिम धारणा बनाउने बताएका छन् । गृहमन्त्री थापाले निर्णायक विवादमा पनि प्रधानमन्त्री ओलीकै समर्थन गरेको आशंका भैरहँदा उनी निकट नेताहरुको छुट्टै भेला भएको हो । भेलामा दुई दर्जन नेता सहभागी भएको बताइएको छ ।
यो समूहले नेकपाको केन्द्रीय कमिटीमा आफूहरुको करिब ४० सदस्य रहेको दाबी गर्दै आएको छ । यद्यपि नेकपा विवादमा थापा लामो समय प्रधानमन्त्री ओलीको समर्थन गरे पनि स्थायी कमिटी सदस्यहरु देव गुरुङ र पम्फा भुसालले दाहाल–नेपाल समूहमा थिए ।
संसद् विघटन गरी राष्ट्रपतिलाई नयाँ चुनावका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को वैठकको निर्णयमा असहमति जनाउँदै दाहाल-नेपाल समूहका सात मन्त्रीले राजीनामा गरे पनि गृहमन्त्री थापाको भने राजीनामा आएको छैन ।
गत असारको स्थायी कमिटी विवादमा पनि थापा कहिले ओली त कहिले दाहाल-नेपाल समूहका भेलामा पुगेका थिए ।




















प्रतिक्रिया