काम चलाउ सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटन गर्नु राम्रो काम नभएकाले बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीलाई साथ नदिने बताएका छन् । सोमबार मन्त्री निवास पुल्चोकमा भएको आफू निकट नेता तथा सांसदहरुसँगको छलफलमा थापाले संसद बिघटन गर्नेलाई साथ नदिने बताएका हुन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीलाई साथ दिने कुरा चलिरहेको बेला थापाले आफू निकट नेताहरुसँग प्रतिगमनको साथ दिन नसकिने बताए ।
आइतबार बिहान प्रधानमन्त्रीले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएर संघीय संसद विघटनको सिफारिस गरेका थिए । सिफारिस लगत्तै राष्ट्रपतिले संघीय संसद विघटनको सिफारिसलाई स्वीकृत गरेकी थिइन् । चुनावको मितिसमेत घोषणा गरेकाले ओली सरकार यतिबेला कामचलाउमा रहेका छ । प्रधानमन्त्री ओलीको कदमलाई बहुमतसहित हिजो बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माधवकुमार नेपाल, झलनाथ खनालको समूह सचिवालयदेखि केन्द्रीय कमिटी र संसदमा बहुमतमा छन् । प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीहरुले आइतबार सामूहिक राजीनामा दिएका थिए । तर, पुर्व माओवादीका तर्फबाट नेतृत्व गरेका थापा र उद्योगमन्त्री लेखराज भट्ट सामूहिक राजीनामामा सामेल भएनन् । यसअघिका सचिवालय बैठकमा थापाले खेलेका भूमिकालाई लिएर उनी ओली खेमामा गएको अड्कलबाजी गरिएको थियो ।
पछिल्लो घटनाक्रममा थापाले प्रचण्ड–नेपाल समूहक मन्त्रीहरुसहित राजीनामा नदिएपछि उनी ओली निकट रहेको पुष्टि भएको थियो । आइतबार बसेको स्थायी कमिटीको बैठकमा थापा सहभागी भएनन् । थापाले ओलीलाई साथ दिएपछि पुर्व माओवादी अर्थात् उनी पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुले सरकारी निवास पुल्चोकमा गएर सोमबार बिहानै छलफल गरेका छन् । छलफलमा उनी निकट नेता र सांसदहरुको प्रतिगमनकारी ओलीलाई साथ नदिन दबाब दिएका थिए ।
उक्त छलफलमा थापाले आफू संसद विघटन गर्ने प्रतिगामी कमदलाई साथ नदिने भनेर नेताहरुलाई आश्वस्त पारेका थिए । आचार्यले भने– ‘हामीहरुले छलफल गरेका छौँ । हिजो भएको संघीय संसदको विघटन प्रतिगामी कदम हो ।
बादललाई त्यो कदमलाई साथ दिनु हुँदैन भन्ने सबैको सुझाब थियो । उहाँले पनि तपाईंहरुको सुझाब अनुसार चल्छु । संसद बिघटनको पक्षमा नलाग्ने प्रतिबद्धता जनाउनु भयो ।’ छलफलमा थापा पक्षका नेताहरुले प्रतिगमनकारी ओलीको पक्षमा लाग्नु लोकतन्त्र, गणतन्त्रको विरुद्ध लाग्नु सरह भएको सल्लाह दिएको आचार्यले बताए ।
थापाको भनाई उद्धिृत गर्दै सहभागी एक नेताले भने– ‘प्रचण्ड यथास्थितिवादी भए । ओली प्रतिगामी । यसको बीचमा बस्न सकिन्न । एक जना रोज्नु पर्ने अवस्था आएको छ । यसको अर्थ प्रतिगमनलाई साथ दिने भनेको होइन । दुईमा एक रोज्दा तत्काललाई यथास्थितिवादीसँग मिल्नुको विकल्प छैन ।’ थापा पछिल्लो समयमा ओली निकट बाहिरी हल्ला र उनको व्यवहारले देखाए पनि सोमबार बालुवाटारमा भएको ओली निकटको भेलामा सहभागी भएनन् ।
मन्त्री लेखराज भट्ट भने सहभागी भए । छलफलमा थापाले आफू निकट नेताहरुलाई नछोड्ने प्रतिबद्धता जनाएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताए । न्यौपानेले भने– ‘आजको छलफल सकारात्मक भयो । सामूहिक रुपमा दिएको सल्लाह सुझाव अनुसार चल्छु । संसद विघटन गर्नेलाई साथ दिन सकिदैन । तर, एक पटक दुवै नेताहरुसँग छलफल गरेर निर्णय गर्छु भन्नु भएको छ ।’
थापासँगको छलफलमा स्थायी कमिटी सदस्य देब गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, अमृता थापामगर, यसोदा सुवेदी गुरुङ, सूर्यप्रकाश सुवेदी, लेखनाथ न्यौपाने, रामदीप आचार्य, सावित्रि कुमार काफ्ले, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, महेश्वर दाहाल, युवाराज भट्राई, सुरेश आलेमगर लगायतका नेताहरु सहभागी थिए । छलफलमा नेताहरुले अध्यक्ष प्रचण्डसँग मिलेर जान सुझाव दिएको आचार्यले बताए । सहभागी नेताहरुले अहिलेको लडाईँ विचारको भएकाले विचार प्रचण्डको सही भएकाले उनकै पक्षमा लाग्न सुझाव दिएका थिए ।
प्रतिक्रिया