Logo

समाचार

कार्यस्थल असुरक्षित भएको भन्दै जानकी मन्दिरको शरणमा सुरक्षा माग्दै नर्सहरु



जनकपुरका नर्सहरुले कार्यक्षेत्र सुरक्षित बनाउन सरकारसमक्ष माग गरेका छन्। नर्सिङ्ग दिवसका अवसरमा नर्सहरुले कार्यस्थल असुरक्षित भएकोले काम गर्न असहज भएको भन्दै सुरक्षित कार्यक्षेत्रको माग गरेका हुन्।

उनीहरुले हातहातमा प्लेकार्ड लिएर जनकपुर नगर परिक्रमा गर्दै आफ्ना माग प्रस्तुत गरेका छन्। नगर परिक्रमा पश्चात जानकी मन्दिरमा कोण सभा गरेका छन्। स्वास्थ्य संस्थामा कार्यरत्त नर्स तथा नर्सिङ्ग पढिरहेका विद्यार्थीले सुरक्षित कार्य क्षेत्र भए मात्र नर्सिङ्ग सेवा गुणस्तरीय बन्ने बताए।

कोणसभालाई सम्बोधन गर्दै संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुरेन्द्र यादवले भरपर्दो स्वास्थ्य सेवाका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा प्रमुख चुनौति रहेको बताए। वर्षौअघि डेढ करोड जनसंख्याको आधारमा देशभर खोलिएका स्वास्थ्य संस्था र त्यसमा राखिएका गरिएको दरवन्दी ३ करोड जनसंख्या पुग्दा पनि उही रहेको राज्य मन्त्री बताए।

‘देशमा डेढ करोड जनशक्ति भएकै बेलाको भौतिक संरचना र स्वास्थ्यकर्मी आज तीन करोडभन्दा बढी जनसंख्या पुग्दा पनि छन्। यसले गर्दा सहज स्वास्थ्य सुविधा पाउन सकिँदैन।’ उनले भने।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले नर्स स्वास्थ्य सेवाको प्राण रहेको बताए। उनले भने, ‘नर्सको प्रभावकारी सेवाले देशमा बालमृत्युदर, गर्भवती मृत्युदर घटेको छ।’प्रदेश सरकारले नर्सिङ्गक्षेत्रमा सेवा दिने नर्सलाई सुरक्षा दिने ग्यारेन्टी गरेको मन्त्री साहले बताए।

प्रदेशभरिका सबै विद्यालयमा एक–एकवटा नर्स तुरुन्त व्यवस्थाप गर्न लागिएको उनको भनाई छ। ‘विद्यालयमा पढ्ने बच्चाहरुको स्वास्थ्य अब नर्स दिदीहरुले जाँच्ने छन्,’ उनले भने हामीलाई तुरुन्त ४ सय नर्सको आवश्यकता परकोे छ।

कार्यक्रममा प्रदशे सांसद कौशल कुमार यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, प्रदेश २ का स्वास्थ्य शाखा प्रमुख नवलकिशोर झाले स्वास्थ्य क्षेत्रमा नर्सहरुको उच्च योग्दान रहेको जनाए ।

प्रकाशित मिति : माघ १६, २०७५ बुधबार  १ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।