प्रधानमन्त्री केपी शर्मा ओलीको निम्ति आँखाको कसिङ्गर बनेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा अध्यक्षद्वय पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग आज बिहान खुमलटारमा भेटघाट गरेका छन् । प्रधानमन्त्रीले हठात् र असंवैधानिक तवरले गरेको प्रतिनिधि सभा विघटनपछिको राजनीतिक तरङ्गको असर अब प्रदेश सरकारको समिकरणमा देखिने पक्का छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीले थालेको भेटघाटलाई त्यसै रूपमा बुझ्न स्रोतले बताएको छ । भेटमा नेकपाका प्रमुख सचेतक देव गुरुङ्ग, नेताहरू सुरेन्द्र पाण्डे, लीलामणि पोखेरल, प्रभु साहलगायत रहेको बताइएको छ ।
उता, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने अझैपनि न बालुवाटार र न खुमलटारको अवस्थामा देखिएका छन् । विश्वस्त सूत्रका अनुसार बालुवाटारतिर नजिकिने सोच नभएपनि खुमलटारतर्फ टाँसिदा आफैँ गृहमन्त्री भएपछि रोकिएको छोरोको लफडालाई प्रधानमन्त्रीको समूहले उधिन्ने भयका कारण बादल बीचमै रोकिएको बताइन्छ ।
पार्टीभित्रका आफू निकट सबैले कराउँदा र मनाउँदा पनि खुमलटार र बालुवाटारसँग समदूरीमा रहनुको अर्थ त्यहि भएको अड्कल लगाउनेहरू निकै छन् । तर, गृहमन्त्रालयको जिम्मेवारीमा बसेर दुईवटा डुंगामा खुट्टा हाल्न पाइन्न भन्दै हिजोदेखि बालुवाटार निकटस्थहरूबाट तत्काल कित्ता काट गर्न चर्को दबाब परेपछि बादल थप तनावमा रहेको र अहिले दिउँसो खुमल्टार पुगेको स्रोतको दाबी छ ।
प्रतिक्रिया