Logo

राजनीति

चुनाव पनि हुँदैन, संसद पनि ब्युँतिदैन, लामो समय सम्मा गृहमन्त्री खाइन्छ, बरियता बढ्छ : बादल



केहि समयदेखि रजर्भ रहेका गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओली पक्षमा खुलेका छन् । लामो मन्थन र परामर्शपछि उनी ओली पक्षमा खुलेका हुन् । उनले पार्टी अनौपचारिक रूपमा बिभाजन भएपछि पनि केहिदिन नियालिरहेका थिए ।

हत्तपत्त नबोल्ने बादललाई नजिकबाट चिन्नेहरू कहिले यो बादलको बाध्यात्मक कदम भनेका छन् भने कहिले अवसरवादी भएको बताएका छन् । तर लामो समय प्रधानमन्त्री ओलीसंग काम गरेका, उनैको नेतृत्वमा ३ वर्ष गृहमन्त्री बनेका बादलले अन्तिम घडीमा ओलीलाई नै साथ दिनुमा केहि रहस्य भने लिकेका छन् ।

आफ्ना पक्षका सबैजसो नेताहरूले प्रचण्ड९नेपाल पक्षमा खुलेरै लाग्दा पनि बादल एक्लै ओली पक्षमा जानुले मुख्य चार संदेश दिएका छन्।

संसद पुनस्थापना हुँदैन

थापाको यो कदमलाई लिएर उनलाई नजिकबाट बुझ्नेहरुका विभिन्नखालका अड्कलबाजी छन् । उनीहरु मध्येका केहीको बुझाई छ– थापाको ओलीसँगको सहकार्य संसद पुनस्थापना हुँदैन भन्ने सन्देश हो । 

थापासँग लामोसमय काम गरेका नेकपा (दाहाल–नेपाल) का स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘संसद पुनस्थापना हुन्छ भन्ने लागेको भएको भए थापाले सम्भवतस् ओलीको साथ दिँदैनथे । संसद पुनस्थापना नहुँदा आफूहरुको कदम संवैधानिक थियो भन्ने राजनीतिक आधार बन्न सक्ने थापाको आकलन देखिन्छ ।’ यो मुद्दा सर्वोच्च अदालतमा छ ।

बैशाखमा चुनाव हुँदैन

थापानिकट मानिने तर अहिले नेकपाको दाहाल–नेपाल समूहमा रहेका एक केन्द्रीय सदस्यले थापाले ओलीसँग सहकार्यको हात बढाएर बैशाखमा चुनाव हुँदैन भन्ने संकेत गरेको विश्लेषण सुनाए । कसरी ? उनले भने, ‘थापाको अहिलेको कदम राजनीतिक रुपमा स्वभाविक र प्राकृतिक देखिँदैन । 

आफ्ना सहकर्मी सबैले असहयोग गर्दा पनि उनी ओलीसँग सहकार्यको तहमा पुगे । थापा बैशाखमा चुनाव हुँदैन भन्नेमा ढुक्क छन् ।’ राष्ट्रियसभा सदस्य रहेकाले थापाका लागि प्रतिनिधि सभाको चुनावको अन्य नेताहरुलाई जति महत्वपूर्ण छैन ।

गृहमन्त्रीमा लामो समय बसिन्छ

नेकपाकै दाहाल–नेपालसमूहका अर्का एक सदस्यले राजनीतिक–वैचारिकरुपमा विचलित भएर थापाले पदकै लागि ओलीसँग सहकार्य गरेको विश्लेषण गरे । उनले भने, ‘सरकार गठन भएको तीन बर्ष भयो । ओली मन्त्रिपरिषद्मा उनी शक्तिशाली मन्त्री बने । अहिले गृहमन्त्रीको पदलाई सुरक्षित गर्न ओलीसँग नजिक भए । र, यसमा गृहमन्त्री चार महिनामात्रै होइन लामो समय बसिन्छ भन्ने थापाको बुझाई छ ।

 संसद पनि पुनस्थापना नहुने र बैशाखमा चुनाव पनि नहुने हो भने थापाको कार्यकाल लम्बिन सक्छ ।’ गृहमन्त्रीका रुपमा अहिलेसम्म थापाको कार्यकाल औसत छ । उनका कार्यकालमा निर्मला पन्त बलात्कार र हत्यालगायतका केही गम्भीर अपराध अनुसन्धान निष्कर्षमा पुगेका छैनन् ।

बरियता बढ्छ

हाल थापासँगै रहेका ओली नेकपाका एक केन्द्रीय सदस्यको बुझाईमा थापाले दाहाल–नेपालतिर भन्दा ओलीतिर राजनीतिक सम्भावना देखे । कसरी रु उनले विश्लेषण सुनाए, ‘वामदेव गौतम दाहाल–नेपाल समूहमा सहभागी नभए थापाको वरियता पाँचौ हुने थियो र गौतम सहभागी हुँदा छैठौँ । यदि गौतम नखुल्दै थापा दाहाल–नेपाल समूहमा जोडिएको भए उनी दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठपछि पाँचौ वरियतामा हुन्थे ।

 तर, थापाले ओलीलाई समर्थन गरेर हाल दोस्रो वरियता सुरक्षित गरेका छन् । यद्यपि गौतम ओली खेमामा गए भने थापा तेस्रो वरियतामा हुनेछन् । ओली समूहको दोस्रो नेता हुन छाडेर थापाले अर्को समूहमा पाचौँ वा छैठौँ वरीयता रोज्न तयार भएनन् ।

प्रकाशित मिति : पुष १०, २०७७ शुक्रबार  ५ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।