Logo

राजनीति

कांग्रेस जता, प्रदेश त्यतै



 संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ। कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ।

प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ।

गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा दाहाल–नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ। प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ सांसदले हस्ताक्षर गरी शुक्रबार बिहान ११ः२५ बजे अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

उनीहरूले मुख्यमन्त्री पौडेललाई पदमुक्त गर्न माग गर्दै नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदका लागि प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्। उनीहरूले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेका छन्।

‘नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम हामी तपसिल बमोजिमका बागमती प्रदेश सभाका सदस्यहरूले माननीय मुख्यमन्त्री डोरमणि पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेस गर्ने प्रयोजनका लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गर्दछौं’, प्रदेशसभामा दर्ता गराएको पत्रमा भनिएको छ।

१ सय १० सदस्य रहेको बागमती प्रदेशसभामा नेकपाका ८० जना छन् । यीमध्ये ३४ जना प्रधानमन्त्री केपी शर्मा ओलीनिकट छन्। ओलीनिकट रहे पनि प्रदेशसभा सदस्य केशव स्थापित उनका विपक्षमा देखिएका छन्।

४६ जना पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका छन्। त्यसमा पनि दाहालनिकट २३ र नेपालनिकट २३ जना छन्। यस्तै, कांग्रेसका २२, राप्रपाका २, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

कांग्रेसको १३ गतेको आन्दोलनमा प्रभावकारी बनाउन तरुण दलको निर्देशन

नेपाल तरुण दलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्धको आन्दोलनलाई सशक्त बनाउन मातहतलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार परिपत्र जारी गरेर पुस १३ गते हुन लागेको देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको प्रदर्शनमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएका हुन् ।

बस्नेतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् । पुस १६ गते कांग्रेसल देशभरि मेलमिलाप दिवस मनाउन लागेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेस पार्टीले यहि २०७७ साल पुष १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउंदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरूलाई व्यापक परिचालन गर्नरगराउन निर्देशन गरिन्छ’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘०७७ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न त्यस जिल्ला समितिलाई निर्देशन गरिन्छ’, बस्नेतले भनेका छन् ।

‘नेपाल तरुण दल त्यस जिल्ला समितिले उक्त दिन पार्टी संग समन्वय गरी पार्टीको कार्यक्रम संग नजुधने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी उक्त दिवस मनाउन यो परिपत्र गरिएको छ’, तरुण दलका जिल्ला अध्यक्षहरूलाई बस्नेतद्वारा गरिएको परिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : पुष ११, २०७७ शनिबार  ९ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।