प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको पक्षमा देखिएका छन् । प्रतिनिधसिभा बिघटनका बेला ओलीलाई उनको समर्थन छ कि भन्ने आशंकालाई प्रमाणित गर्ने गरी देउवा ओलीको पक्षमा देखिएका हुन् ।
शुक्रबार पार्टीको भावी रणनिती तय गर्न बसेको बैठकमा देउवाले कांग्रेसले प्रतिनिधिसभा पुनस्थापनाको कुनै एजेन्डा नबोक्ने बताए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले संसद् पुनर्स्थापनाको एजेन्डालाई जनतासमक्ष लिएर जानुपर्ने माग गरिरहेको बेला देउवाले अहिलेको अवस्थामा त्यस्तो एजेन्डा बोक्न नसकिने बताए ।
वरिष्ठ नेता पौडेलले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेन्डा संसद् पुनर्स्थापना हुनुपर्ने बताएपछि पौडेललाई जवाफ दिँदै सभापति देउवाले काँग्रेसले यस्तो एजेण्डा बोक्नु आवश्यकता नभएको बताए । साथै सभापति देउवाले संसद् विघटनको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यसबारे कांग्रेसले केही नगर्ने र नबोल्ने बताए ।
कांग्रेसले यही १३ पुसमा सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिसकेको अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापनाको माग छोडेर उक्त प्रदर्शनमा के विषय उठान गर्ने भन्ने बारेमा काँग्रेसभित्र अन्यौल देखिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष ओलीको कदम विरुद्ध सशक्त आन्दोलन गर्नु पर्छ भन्ने मागमा अडिग देखिन्छ भने सभापति देउवा पक्ष अहिले नै केही नबोलौं भन्ने पक्षमा देखिएको छ ।
नेपाली काँग्रेसका अधिकांस युवा नेताहरु पौडेलको पक्षमा देखिन्छन् । शुक्रबारको बैठकमा बरिष्ठ नेता पौडेलले केही बोल्नु छ भन्दै समय मागेरै आन्दोलनको एजेन्डाबारे पार्टी प्रस्ट हुनुपर्ने माग गरेका थिए । ओलीको प्रतिगमनकारी कदमका विरुद्ध सशक्त आन्दोलन गर्न नेपाली काँग्रेस डगमगाउनु नहुने अडान पौडेलको थियो ।
लोकतन्त्रमा संसद बिघटन जस्तो संवेदनशील विषयलाई झारा टार्ने गरी आन्दोलन तुहाउन खोज्नु गलत हुन्छ,’ पौडेलले भने । त्यस लगत्तै देउवाले संसद् पुनर्स्थापनाको एजेण्डा बनाएर सडकमा जान नसकिने भएकाले यो एजेन्डा नबोक्न आग्रह गरे ।
बरिष्ठ नेता पौडेलको बिचारमा सहमत हुने नेताहरुले सरकारमा ओलीको जस्तै प्रतिपक्षी दल काँग्रेसमा पनि सभापति देउवा निरंकुश बनेको गुनासो गर्न थालेका छन् । काँग्रेसमा देउवाले अभिव्यक्ति स्वतन्त्रतामा समेत रोक लगाउँनु लोकतन्त्रकै अपमान भएको ठहर उनीहरुको छ ।
प्रतिक्रिया