नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा पछिल्लो समय उत्पन्न परिस्थितिको बारेमा छलफल भएको बुझिएको छ । उक्त भेटमा नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको सख्त आलोचना र विरोध गरेका थिए । सचिवालय सदस्यसमेत रहेका गौतम अहिलेसम्म पार्टीभित्रको विवादपछि कुनैपनि कित्तामा स्पष्ट खुलेर लागेका छैनन् ।
पेरिसडाँडा कब्जा गर्ने महेश बस्नेतको चेतावनी
नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् । शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उनले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर(पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिए ।
उनले भने–‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना लगाएर बनाएको पार्टी कार्यालय, ललितपुरमा आँखा नलगाउनुस्, देशभरका सम्पर्क कार्यालयमा आँखा नलगाउनुस्, हामी पेरिसडाँडामा पनि आँखा लगाउँदैनौँ । हाम्रो कार्यालयमा आँखा लगाउनुभयो भने हामी पनि आँखा लगाउँछौँ । पेरिसडाँडा कब्जा गर्नसक्छौँ ।’
उनले पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिए । प्रचण्डको चुनाव चिन्ह हँसिया हतौडा भएकाले माधव नेपाल र झलनाथ खनालाई सोही चिन्हमा चुनाव लडन भन्दै सूर्य चिन्ह केपी ओलीको रहेको दावी गरे । उनले भने–‘अब सूर्य चिन्हतिर आँखा नलगाउनुस् तपाईको कुनै अधिकार छैन ।’
ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गर्दै उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावी गरे । ललितपुरको ओली समूहको कार्यकर्ता भेलालाई महेश बस्नेत अघि उर्जामन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया