‘ठूलो आवाज आएतिर हेरेको हैर्ने सकिनँ । एकछिन भागेँ तर प्लेन दुर्घटना भएको निश्चित भएकाले तत्काल उद्धारमा खटेँ’, लुक्ला विमान दुर्घटनाका प्रत्यक्षदर्शी धनकुमार तामाङले भने ।
सोलुखुम्बुको लुक्लामा आज बिहान समिट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोकिएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । विमानमा यात्रु नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताए । स्थानीय धनकुमार तामाङका अनुसार पर्यटक तथा यात्रु लिन मन्थली जान लागेको खाली विमान भएका कारण मानवीय क्षति कम भएको हो ।
प्रत्यक्षदर्शी लाक्पा तामाङका अनुसार समिट एयरको विमान उडानका लागि टेक अफ गर्ने क्रममा एकासि नजिकै रहेको हेलिप्याडमा धस्सिन पुग्यो । विमान अनियन्त्रित भएर दुई जना प्रहरीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भयो । प्रत्यक्षदर्शी धनकुमार थप्छन्, ‘अरू प्रहरी र कामदारहरू तथा केही स्थानीयहरू विमानस्थल नजिकै भए पनि भाग्न सफल भए ।’
विमान हेलिकोप्टरमा ठोकिँदा एउटा हेलिकोप्टरमा क्षति पुर्याएको थियो भने अर्काे हेलिकोप्टरलाई पनि सामान्य असर गरेको प्रतयदर्शीले बताए ।
एक्कासि विमान अनियन्त्रित भए पनि ठूलो आगजनी हुन नपाएका कारण ठूलो क्षति हुन नपाएको स्थानीयले बताए । विमानस्थलमा रहेको बारुणयन्त्रका साथै प्रहरी र स्थानीयहरूको सक्रियतामा समयमै उद्धार भएकाले आगो फैलिन नपाएको प्रत्यक्षदर्शीहरूले बताए ।


















प्रतिक्रिया