Logo

राजनीति

“केपीले कलंकको टीका लगाए, जनता सामु माफी माग्नुपर्छ”



नेकपा दाहाल-नेपाल समुहका शिर्षस्थ नेताहरुले संसद विघटन तथा केपी ओलीको कार्य शैलीको चर्को विरोध गरेकाछन् । संसद् विघटनको विरुद्धमा नेकपा दाहाल-नेपाल समुहले काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा शिर्षस्थ नेताहरुले अदालतले संसदको पुनस्थापना हुने र आफ्नो समुह नै नेकपाको आधिकारिक भएको दावी गरे ।

विरोध सभालाइ सम्वोधन गर्दै समुहका अध्यक्ष पुष्पकमल दाहालले नियोजित रुपमा जनतामाथि षणयन्त्र भएको आरोप लगाएकाछन । जनताले पाएको उपलव्धीलाई दुई जनाले सखाप पारेको भन्दै जनताले त्यसको प्रतिकार गर्ने बताए । “ओलीले सदन होइन, आफ्नो सरकारको विघटन गरेका हुन्। सदन जीवित छ। उनले कलंकको टीका लगाएका छन्। उनले नेपाली जनताको सामु माफी माग्नुपर्छ ,”  उनले भने।

दाहालले सर्बोच्च अदालतले प्रतिनिधिसभाा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । उनले भने,” संविधानको अक्षर र भावनालाई सर्बोच्च अदालतले सम्मान गर्नेछ, म सोच्न पनि सक्दिनँ सम्मानित अदालतले संविधानको मर्म र भावना बुझ्दैन भनेर । यो अदालतलाई फैसलाका लागि सहज होस भनेर सहजीकरण पनि हो । नत्र यो अन्दोलन ट्रेलरमात्र हो, ठूलो आँधी आउन बाँकी छ ।”

कार्यक्रममा दाहालले केपी ओली अझै पनि बयलगाडाकै सिद्धान्तमा रहेको बताए । उनले भने , ” उहाँको सिद्धान्त बयलगाडा होइन भन्ने मलाई थाहा थियो। उहाँ संघीयता र धर्म निरपेक्षताको विरोधी हो भन्ने मलाई थाहा थियो। आम नागरिकलाई पनि थाहा थियो। तर उहाँले आँधी हुरी आएकाले मैले मानिदिए भन्नुभयो मैले त्यसलाई विश्वास गरें। तर घटनाक्रमले पुष्टि गर्यो। उहाँ बयलगाडा नै हुनुहुन्छ । “केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै उनले जनतासँग माफी समेत मागे ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा दाहाल –नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको आयु पुगेको बताएका छन् । अध्यक्ष नेपालले भने,”निरंकुश बाटो समातेका केपी ओलीको आयु पुग्यो । नेपालले भने, “निरंकुश बाटो समेतका केपी ओली एण्ड प्रवृत्तिको आयु सिद्धियो अब । बिगतमा केपी ओलीले गणतन्त्र लागि भएको आन्दोलनको खिसिटिउरी गरेको भन्दै नेपालले भने, “बयलगाडा चढेर वासिङ्टन पुग्न सकिँदैन महामहिम केपी शर्मा ओलीजीले बोल्नुभएको थियो ।”

ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै नेपालले  प्रधानमन्त्री केपी ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नै नभएको र सामान्य लोकतन्त्रवादीजस्तो पनि नभएको आरोप लगाए ।

यस्तै, पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीसंग झापा आन्दोलनदेखि समश्या देखिएको तर १४ वर्ष जेलमा वस्दा सुध्रिए की भन्ने अपेक्षा गरेपनि उनी सुध्रिन नसकेको आरोप लगाए । उनले भने गफ गरेर सरकार चलाउन खोजे, हामीले विरोध गरेपछि संसद विघटन गरे । नेता खनालले संसद विघटन गरेर संविधानमाथि बलात्कार गरेको आरोप लगाएका छन् ।

कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक निकाय कसैको दबाबमा पर्ने छैन भन्नेमा आफू ढुक्क रहेको बताएका छन्। आम जनता र कार्यकर्तालाई भ्रमित नपर्न आग्रह गर्न चाहन्छु‚’ श्रेष्ठले स्पष्ट पार्दै भने, ‘संवैधानिक निकाय र अंगहरुले स्वच्छ ढंगले भूमिका निर्वाह गर्नेछन्। संवैधानिक अंगका व्यक्तिहरुलाई स्वच्छ ढंगले काम गर्ने वातावरणमा काम गर्ने ग्यारेन्टी गर्न पनि आमसभा गरेका छौँ। उहाँहरू कसैको दबाबमा जानुहुने छैन भन्नेमा हामी ढुक्क छौँ। उहाँहरूप्रति सम्मान गर्न चाहन्छौँ।’

यस्तै विरोधसभामा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओलीले जनताले गरेको आन्दोलन र संविधानको अपेक्षा पूरा गर्न नसकेको बताइन् । नेतृ शाक्यले भनिन्, जनताको शक्तिको अगाडि राजसंस्था त टिकेन भने केपी ओली कहाँ टिक्छ ? केपी ओली आज कामरेड बन्नुभएन, सामन्ती शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो ।

उपत्यकाका टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट जुलुस निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको थियो । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकीबाट गणेश साहले जुलुशको नेतृत्व गरेका थिए ।

नेकपा दाहाल नेपाल समुहले आज मुलुकभर विरोधसभाको आयोजना गरेको थियो ।

133826614_2941601506062917_6114211116328435512_n.jpg

Jhalanath-_Khanal.jpg 

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  ४ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।