नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले सरकारले मंगलबार पारित गरेको ०७६-०७७ को नीति तथा कार्यक्रमलाई हावादारी भनेका छन् । उनले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई जनकपुर पुगेर ‘हावादारी’को संज्ञा दिएका हुन् ।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले रेलवे र पानीजहाज सन्चालन गर्ने हावादारी कुरा गरेर आश्वासनको पुलिन्दामात्र बाँडेको आरोप लगाए ।सरकारले प्रदेश सन्चालनका निम्ति कुनै नीति तथा कार्यक्रम नबनाएको र प्रदेशलाई कुनै अधिकार नदिएका कारण यो सरकार संघीयताविरोधी पुष्टि भएको उनको आरोप थियो ।
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांगेसका महामन्त्री डा. शंशाक कोइरालाले प्रधानमन्त्री तानाशाही बनेको आरोप लगाएका छन् । सबै अधिकारहरु आफ्नो हातमा राख्ने र काण्डै काण्ड मच्चाउने काम भएको भन्दै उनले कांग्रेसले यस्ता गतिविधिको सधै विरोध गर्ने बताए ।
नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा आज (बुधबार) देखि सुरु गरेको राष्ट्रिय जागरण अभियानका क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले सञ्चारमाध्यम, न्यायपालिका लगायतका क्षेत्रलाई सरकारले कठपुतली बनाएको आरोप लगाएका हुन् ।
यो सरकार काण्डै काण्डको सरकार भन्दै उनले ती काण्डहरु कांग्रेसले पर्दाफास गर्ने दावी गरे । ‘यो सरकारले निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, वाइटवडी काण्ड लगायतका थुप्रै अपराधहरुलाई लुकाएको छ, हामी पर्दाफास गर्छौ’ नेता कोइरालाले भने ।
उनले सरकार अधिनायकवादको गतल बाटोमा हिडेको भन्दै कांग्रेस खबरदारीमा लागिरहने बताए ।

यसैबीच प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति एबम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संसदीय इतिहाँसमा कृष्णबहादुर महरा काँतर सभामुख भएको बताएका छन् ।
जागरण अभियानको कार्यक्रमका क्रममा बुधबार राष्ट्रिय सभाको कार्यक्रममा देउवाले भने,‘ मंगलबार (हिजो) हामीले प्रधानमन्त्रीको भाषा राम्रो भएन भनेर विरोध गर्दै डिलिट गर्न अनुरोध गरेका थियौं तर नेपालको इतिहाँसमा महरा डरपोक र काँतर सभामुख भएर निस्किएँ, डिलिट भएन ।’
सरकारको आलोचना गरेका उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै राष्ट्रपति विद्या भण्डारीले बेलायतको महारानीको शैलीमा सम्बोधन गरेको उल्लेख गर्दै भने,‘सभामुख पनि निरिह देखिए, यहि हो कम्युनिस्ट शासन भनेको, कम्युनिस्टको शासन आयो भने यस्तै हुन्छ भनेको हो ।’
सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकार एकतन्त्र र तानाशाही बन्न थालेको आरोप लगाए ।















प्रतिक्रिया