Logo

पत्रपत्रिका

चकचक गरेको आरोपमा नर्सरी पढ्ने बिद्यार्थी निष्कासित !



विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ।

नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन। बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ।

तामाङ गत वर्ष सोही स्कुलमा ‘प्ले गु्रप’ मा भर्ना भएका थिए। यस वर्ष भने विद्यालयले पढाउन नमानेपछि अहिले परिवार समस्यामा छन्। बाबुले अर्कै श्रीमति लिएर गएपछि एक्लिएकी आमासँग बस्दै आएका तामाङको आर्थिक अवस्था कमजोर छ। गरिब परिवारकै भएका कारण तामाङकी आमा घरेलु कामदारका रूपमा भीमसेनगोलाकै जनार्दनकृष्ण श्रेष्ठको घरमा काम गर्छिन्।

तामाङको पढाइ खर्च पनि श्रेष्ठले नै बेहोरिरहेका छन्। श्रेष्ठले भने, ‘प्ले गु्रपमा मासिक १८ सय रुपैयाँ तिरेर गत वर्षदेखि पढाइरहेको छु। तर पढाइमा राम्रो हुँदाहुँदै स्कुलले चकचक गरेको आरोपमा पढाउन सक्दिनँ भनेपछि म चकित भएँ।’ सुरुमा तामाङलाई पढाउन स्कुल लैजाँदा शिक्षक नआएकाले पढाइ सुरु नभएको बताउँदै घर फर्काउने गरेको थियो।

‘विद्यालय गएर बुझ्दा त बाबुलाई पढाउन सक्दिनँ पो भन्यो’, श्रेष्ठले भने, ‘बच्चालाई पढाएर ज्ञानी बनाउँछु भन्ने लक्ष्य बोकेको स्कुलले नै पढाउन सक्दिनँ भन्छ भने गरिब परिवारका छोराछोरीले कहाँ पढ्ने ? ’

निजी विद्यालय सञ्चालकले विद्यार्थीलाई स्तरीय शिक्षा दिएको दाबी गरेका छन्। तर नर्सरीमा पढेको अबोध बालकलाई अनुशासनमा राख्न नसकेको भन्ने आरोपलाई अभिभावकले मानवताविरोधी भनेका छन्। बालबालिकाको दोस्रो घर मानिने विद्यालयले नै विद्यार्थीलाई पढाउन सक्दिनँ भन्दै निष्कासन गरिनु नैतिकताहीन काम भएको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।