नेकपा प्रचण्ड–माधव नेपाल समूहका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्रीसमेत रहेका ओली समूहका अध्यक्ष केपी ओली कठपुतली भएको आरोप लगाएका छन् ।
शनिबार विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले ओली लम्पसारवादी र कठपुतली भएको आरोप लगाए । ओली विदेशीको इशारामा चल्ने कठपुतली भएको आरोप शर्माको थियो । ओलीको उपयोगिता सकिएपछि विदेशी शक्तिले नै सत्ताबाट फालिदिने शर्मको टिप्पणी छ । ‘
ओली लम्पसारवादी र विदेशीका कठपुतली हुन्’, शर्माले भने, ‘ओलीलाई अहिले जसले प्रयोग गरेको छ, उसैले आवशयकता सकिएछि ओलीलाई फालिदिन्छन् ।’ तर, ओलीलाई कुन विदेशी शक्तिले प्रयोग गरेको भन्नेबारे शर्माले खुलाएनन् । ओली कम्युनिष्ट आन्दोलनका लागि विषालु गोमन सर्प रहेको टिप्पणी उनले गरे ।
केपी ओली साहसिक नेता : बादल
गृहमन्त्री एवं नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा विघटनलाई साहसिक कदम भएको दाबी गरेका छन् । ओली समूहका अगुवा कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै बादलले प्रधानमन्त्री ओली साहसिक व्यक्ति भएको बताए ।
प्रतिनिधिसभा विघटनबारे सर्वत्र समर्थन भइरहेको जिकिर बादलले गरे । प्रधानमन्त्रीविरुद्ध आफ्नै दलका नेताले संसदमा अविश्वास प्रस्तावमार्फत राजनीतिक ‘कू’ गर्न खोजेपछि व्यवस्था बचाउन प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी उनको थियो । ‘बाहिर हेर्दा प्रतिगमनतिर फर्किए जस्तो देखिएको छ’, बादलले भने, ‘तर प्रतिनिधिसभा विघटन साहसिक कदम हो । हामी नयाँ उचाइमा पुगेका छौं ।’
बादलले निर्वाचनमा आफ्नो समूह निर्वाचित हुने पनि दाबी गरे । संसद विघटन असवरवादी र प्रतिगामीहरुको नारा भन्दै उनले निर्वाचनमा प्रतिगमनकारीहरुलाई घुँडा टेकाउने जिकिर गरे ।
नेकपा विभाजन नभएको भन्दै बादलले पदीय लोभका कारण केही अवसरवादीहरुले पार्टी छाडेको आरोप लगाए ।
प्रतिक्रिया