नेकपा ओली पक्षका अध्यक्ष केपी शर्माओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छोडने ठोकुवा गरेका छन् । आइतबार आफ्रु निकट विद्यार्थी संगठन अनेरास्ववियुले गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले २०७८ सालको बैशाखमा चुनाव हुने भन्दै कतिपयले चुनाव हुँदै हुँदैन भनेर भ्रम छरिरहेको बताए ।
उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे । सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बताउँदै उनले विघटित संसद नबौरिँने र नयाँ चुनाव भएरै छोड्ने बताए ।
उनले सभामुख अग्नि सापकोटा नै कीर्ते कामको साक्षी बसेको आरोप लगाएका छन् । प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा सभामुख सापकोटा कीर्ते कामको साक्षी बसेको उनको आरोप थियो । ” सभामुखजस्तो मान्छेले साढे ३ बजे लगेको निवेदन बिहान साढे १० मा नै आएको भनेर कीर्ते साक्षी बस्नु भएको छ । सभामुखजस्तो मान्छे कीर्ते कामको साक्षी बस्नु कहाँसम्म लज्जाजनकरु कहाँसम्मको हविगत ? ” उनले भने । साढे ३ बजे मात्र अविश्वासको प्रस्ताव दर्ता भएको उनको भनाइ थियो ।
कार्यक्रममा ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे । महिलाको हुर्मत लिनलाई आफूलाई किड्नी दिने भान्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गर्ने र महिलाको किड्नी लगाएको व्यक्तिको दिमाग सन्तुलित नहुने भनी टिप्पणी गर्ने गरेको समेत उनले बताए ।
उनले पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्नका लागि मात्रै बैठक बस्ने गरेको दावी गरे । ओलीले बितेका ३ वर्षमा पार्टी गतिशील नभएको र अहिले आएर अनेरास्ववियु गतिशील भएको उल्लेख गरे ।
प्रतिक्रिया