२०७० सालको संविधानसभाको निर्वाचनमा नवलपरासी ५ बाट निर्वाचित कांग्रेस सांसद बिक्रम खनालले निर्वाचन भइहाल्ला र हतारिएर सरकारमा जाउँला भन्ने छैन कांग्रेसलाई लोभ नभएको बताए ।
निर्वाचन गर्ने पनि एउटा प्रक्रिया हुन्छ, जहिले मन लाग्यो त्यतिबेला निर्वाचन गर्छु भन्न मिल्दैन, प्रधानमन्त्रीले चालेको गलत कदमको भण्डाफोर गर्नुपर्छ’ उनले भने, ‘निर्वाचनमा जाँदा हामीलाई राम्रो हुन्छ भन्ने थाहा छ तर कांग्रेसले आफ्नोमात्र फाइदा हेर्दैन, संविधानलाई धरापमा पार्ने काम कांग्रेसले गर्नु हुँदैन ।’ सरकार बन्ने प्रशस्तै विकल्प हुँदाहुँदै प्रतिनिधिसभा भंग गर्नु अव्यवहारिक र असंवैधानिक भएको उनको टिप्पणी छ ।
नेकपाभित्रको विवादले देश नै अस्थिर र अराजकताको बाटोमा गएको भन्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना नै एकमात्र राम्रो विकल्प भएको स्पष्ट पारे । उनले आफूले पनि संविधान बनाएकाले संविधानमाथि प्रहार भएकोमा चिन्ता लागेको बताए । उनले प्रधानमन्त्री यो हदसम्म जालान् भन्नेचाँहि अनुमान भएको बताए ।
‘मुख्य कुरा संविधानमाथि प्रहार भयो भन्ने हो, लोकतन्त्र र संविधान जोगाउन सकियो भने त फेरि पनि निर्वाचन हुन सक्छ, जनताले पत्याए भने कांग्रेसले सरकार बनाउँछ,’ उनले भने ‘संविधानसम्मत ढंगले गराइएको निर्वाचनमा मात्र कांग्रेसले भाग लिनुपर्छ, प्रधानमन्त्री ओलीले संविधान र विधिको शासनमाथि धावा बोलेका छन् ।’ उनले आफूविरुद्ध आउँदै गरेको अविश्वासको प्रस्ताव फेस गर्नबाट प्रधानमन्त्री डराएको टिप्पणी गरे । ‘आफू लोकप्रिय र राम्रो छु भन्ने लागेको भए प्रधानमन्त्रीले सहज बाटो अपनाउनु पर्दथ्यो तर गलत बाटोबाट गएर आफूलाई महान नेता बनाउने काम भयो’ नेता खनालले भने, ‘संविधान बनाउने काममा मेरो पनि भूमिका थियो, हामीले प्रशस्तै छलफल गरेर राम्रो बनाएको हो, तर सही संविधान गलत मान्छेको हातमा गएपछि यस्तो समस्या आयो ।’
उनले सडक आन्दोलनबाट प्रतिनिधिसभा पुनस्र्थापना हुन सक्ने सम्भावना रहेको बताए । झण्डै दुई तिहाई मत भएको प्रतिनिधिसभा भंग गरेर वैशाखमा फेरि निर्वाचन गर्छु भनेर प्रधानमन्त्रीले भनिरहे पनि त्यसमा कुनै सत्यता नरहेको पनि दाबी गरे ।
‘निर्वाचन गर्ने भनेर नै प्रतिनिधिसभा विघटन गरिएको होइन, प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन हरेक प्रपञ्च गरेका छन् त्यो अब धेरै टिक्दैन ’उनले भने ।
प्रतिक्रिया