नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यागेको खुलासा गरेका छन् ।
दाहाल-नेपाल समूहद्वारा गण्डकी प्रदेशमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकीकरण हुने समयमा ओलीलेनै सबैभन्दा पहिले हस्ताक्षर गरेको र एकीकरण सम्झौतामा जबजलाई सिद्धान्त नमान्ने भनिएको बताए ।
पार्टी एकीकरणको अन्तिम समयमा आफुहरुले जबज मान्न नसकिने बताएको र त्यसमा प्रधानमन्त्री ओली जनताको जनवादमा जान तयार रहेको बताए । त्यससमयमा माधव कुमार नेपालले जबज छाड्नु हुँदैन भन्दै फरक मत राखेको पनि प्रचण्डले खुलाए ।
यस्तै कार्यक्रममा दाहाल-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू हट्ने अवस्था आउनासाथ संसदकै हत्या गर्न पाइन्छ भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री ओलीले पार्टीमा विधि र प्रक्रियाका माग उठेका समयमा संसद विघटन गर्ने जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्नु गलत भएको भन्दै यसको जवाफ जनताले मागेको बताए ।
श्रेष्ठले प्रतिगमनको यो कदमको जवाफ अोलीले आम जनतालाई दिनुपर्ने भन्दै ओली सबैतिरबाट बहिस्कारमा पर्ने पनि ठोकुवा गरे । ‘संयुक्त संघर्षको पहल गरिरहेका छौ । दलहरुबीच छलफल र परामर्श पनि भइरहेको छ । राजनीतिक दल, नागरिक समाज र बुद्धिवजवीहरुसँग अन्तरक्रिया भइरहेका छन् र नयाँ किसिमले संघर्ष अघि बढाउने प्रयास भइहरेको छ’, श्रेष्ठले भने, ‘निरकुश, प्रतिगामी र तानाशाही प्रवृतिलाई धुलो चटाएरै छाड्छौ ।’
प्रतिक्रिया