नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष दाहालले ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्ने बाध्यता सिर्जना भएको दाबी गरेका छन । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्तिगत रिसइवी नभएको तर प्रवृति खराव भएकोले कारवाही गर्नु परेको दावी गरे ।
उनले भने, “तपाईंको पतनको बाटो हामीलाई स्वीकार्य छैन भनेर ओलीलाई सम्झाएको तर नसच्चिए पछि वाध्य भई निर्णय गरेका हौं । तपाईंको विरोध गरेको मात्र हैन हामीभित्र पनि तपाईंको रोग सर्छ कि भनेर हामीमा संक्रमण सर्नुअघि तपाईंलाई मेजर अप्रेसन गर्नुपरेको हो ।”
शनिबार काठमाडौको कार्यक्रममा आफुले दुनियाँलाई हसाएर गल्ती नगरेको भन्ने ओलीको भनाईको प्रत्युत्तरमा दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । “सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको दाहालले टिप्पणी गरे । ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं,” उनले भने ।
अहिलेको व्यवस्था नै ओलीको चाहना नभएको दाहालले आरोप दोहोर्याए । उनले भने, ‘आन्दोलनको उत्सव चलिरहँदा उहाँ गोरुगाढाको कथा सुनाउँदै बस्नु हुन्थ्यो । आन्दोलनले गणतन्त्र ल्याउनु र गोरुगाढाबाट अमेरिका पुग्नु एउटै भन्नु हुन्थ्यो’ ।
ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको उनले बताए । ‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो । साथीहरुको विश्वास लिन सक्नु भएन’, उनले भने ।
दाहालले भने, “जनताले तपाईंलाई प्रधानमन्त्री बनाएका हैनन् । निर्वाचित भएका सबै प्रधानमन्त्री हुँदैनन् । पार्टीले बनाएको हो । त्यही भएर सचिवालय र स्थायी कमिटीबाट प्रधानमन्त्री हटाउन खोज्दा बैठकमै नआउने, बैठक छल्ने, बीचैमा उठेर भाग्ने गर्नुभयो पार्टीभित्रै बहस गरेर देशलाई डुबाउनबाट बचाउन सक्नुहुन्थ्यो ।”
प्रतिक्रिया