आइतबार रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको जिकीर गरेका छन ।
उनीहरुले विगतको जसरी अहिलेको प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने दावी गरे । अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताए ।
त्यस्तै अधिवक्ता गिरिराज भट्टले विगतमा गिरिजाप्रसाद कोइरालाले आफूसँग भएको अधिकार प्रयोग गरेर तत्कालीन श्री ५ लाई विघटन सिफारिस गरिएपछि प्रतिनिधि सभा विघटन भए पनि अहिले नेपालको संविधानमा त्यो व्यवस्था नभएको जिकिर गरे ।
अधिवक्ता डा.भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकारबारे कहीँ कतै उल्लेख नगरिएको जिकिर गर्नुभयो ।
गएको पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ सुरु भइ क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनि यही माघ २ गते आदेश भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारदेखि विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो ।
त्यस विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गएको पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले यस विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।
गएको पुस १० गते संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गएको पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गरिसकेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा चाँडो किनारा लगाउँन अब संवैधानिक इजलासमा दैनिक सुनुवाइ हुने भएको छ । आइतबारको बहस सकिएपछि सोमबार पनि सुनुवाइ हुने जानकारी दिइएको हो ।
प्रतिक्रिया