Logo

राजनीति

शंकर पोखरेलद्वारा प्रचण्डसँगको सहकार्यमा माधव नेपालले ५ सय एमाले कार्यकर्ताको हत्या गराएको आरोप



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालमाथि पाँच सय एमाले कार्यकर्ताको हत्या प्रचण्डसँगको सहकार्यमा गराएको आरोप लगाएका छन् । माधव नेपालले प्रचण्डसँगको सहकार्य सुरु देखि नै भनेको उल्लेख गर्दै पाँच सय एमाले कार्यकर्ताको हत्यामा जम्मेवार रहेको तर्क गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले यदु गौतमलगायत तत्कालिक एमालेका झण्डै ५ सय कार्यकर्ताको हत्यामा माओवादी संलग्न भएकाले सहकार्य हो भने माधव नेपालले पाटीविरुद्ध घात गरेको बताए । माधव नेपालले प्रचण्डसँग सुरु देखि नै सहकार्यमा रहेको भनेपछि पोखरेलको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

उनले फेसबुकमा लेखेका छन् :

कमरेड माधव नेपालको प्रचण्डसंग सुरुदेखि सहकार्य रहेको दावी वारे

माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो । तर आज तपाई कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?

विधि र पद्धतीमा जोड दिने तपाईले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नवोलेको भए हुन्थ्यो । शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ । त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?

संविधान र जनमतको अपमान भएको जिकिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको विचार व्यक्त गरेका छन् । बर्दियाको गुलरियामा आज आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाए ।

नेपालमा पटक पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गरे ।

नेकपा (नेकपा) बर्दियाका अध्यक्ष भुवनकुमार थारुको अध्यक्षतामा जिल्लास्तरीय सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेश पार्टी इञ्चार्ज युवराज ज्ञवाली, पार्टी लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष ओनसरी घर्तीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  ७ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।