पौष महिनाको चिसो मौसम । त्यसैमाथि आज रातभर हिउँ पर्यो । हिजोअस्ति सामान्य तुसारो पथ्र्यो, र त कति चिसो हुन्थ्यो । आज त झन हिउँ परेको ! चिसो खपि सक्नु छैन । बस्तुभाउहरु कराउन थाले । सधै बिहान हुनेवित्तिकै गाई–बाख्रा बाहिर सार्ने गरेको आज घाम लागि सक्यो तर बाहिरको चिसो आत्था ! छोइसक्नु छैन । म चुलोको कुनामा थाङ्नाभित्र घुस्रेको छु । गोठको छानोबाट टपटप हिउँ पग्लेको पानी चुइराखेको आवाज मेरो कानसम्म सजिलै सुनिन्छ ।
रातभर परेको हिउँले गोठको वरिपरी जम्मै सेताम्मे भएको छ । पारि घरतिर हेर्छु कस्तो रमाइलो । मैले मेरो गाउँ आजको भन्दा राम्रो कहिल्यै देखेको थिएन । अति सुन्दर थियो । आहा ! सायद यो समय मेरो गाउँ स्वर्गको एक टुक्रा उछिट्टिएर आएको जस्तो लाग्थ्थो । म गोठको खिर्किबाट माथितिर हेर्छु । ल्याल्मा पातलको त्यो हरियो घना जंगल पुरैले आज सेतो कपडा ओढेको थियो । म भित्र भित्रै आनन्दित हुन्छु । मेरा मनमा अनेकौ प्रश्नहरु उब्जिन्छन । हजारौँ कल्पनाहरुले विजारोपन गर्छन् । म टोलाउँछु एकोहोरो । बिहान उठ्नेबित्तिकै बाजेले ए कान्छा उठ ! घाम लागि सक्यो, बाख्रा खरबारीमा लगेर आइज भन्थे ।
आज उनी पनि मस्तले आगो तापेर बसेका छन् हुक्का तान्दै । बाजेले हुक्का तानेको मैले मज्जाले हेरिरहन्छु । हुक्का तान्दा आउने गुटुटु गुटुटु आवाजले एक प्रकारको मिठो संगीतको काम गथ्र्यो । हिजो साँझ दाउरा ओट राख्न बिर्सेछौं । दाउरा सबै हिउँपानीले भिजाएको छ । चिसो दाउराले आगो राम्री बल्दैन र पत्ताउँछ । त्यसैमाथि मकैको थोताले गर्दा झन गोठ धुवाँ नै धुवाँ भएको छ । बाजेको एक चिलिम तमाखु सकियो । हुक्का गारोमा र बलिन खामोमा अद्याएर राख्दै कराउँछन् ‘यस्का बाजे, आज मौसम मर्यो नि ! अब वस्तु क्यारी सार्ने ? घुरामुनि आउने हिउँपर्यो ।’
म चुपाचाप ओछ्यान भित्रै बसिराख्छु । विस्तारै आकाश फाँट्दै जान्छ । इरिबाङ गाउँ पनि विस्तारै देखिन थाल्यो । छानाको हिउँ विस्तारै पग्लिन थाल्यो । घामले आगनमा छोयो । परेवाहरु उड्न थाले । चिपेचरी कराउँदो उड्यो । काले कल्चु गोठको ढाकामै आयो । सायद आज कालेकल्चुको खाना खोज्ने ठाउँ कतै छैन । सबै हिउँले पुरेको छ । हिजो अस्ति कराएको आवाजमात्र आउँथ्यो आज त ढोकामै आयो ।
बाख्रा म्याँ–म्याँ गर्न थाले । गाई पनि कराउन थाले । बाजेले मकैको नल्था लिएर हालिदे है तेरा साँरेलाई भन्दै कराउँछन । म हो भन्दै लागे नल खात तिर हिउँले मेरो आधिखुट्टा दुवायो । खाली खुट्टा हैट ! कति चिसो । म मनमनै कराउँछु । दौडेर स्याउँको रुखनजिकको मकैको नल लिएर गाई, गोरुलाई हालिदिएँ । गाई गोरुलाई त भयो अब बाख्राको लागि के गर्ने ? बाजे ! पाठालाई के हाल्ने ? म कराउँछु ।
टाँरमुनीको खर हाल्दे, त्यै खान्छन अनि घरिल मुनीको तुसारोको रुख काटेर ल्या । बाजेको निर्देशन अनुसार म फेरि दौडिदै गोठमुनीको तुसारोको रुखमा पुग्छु । तुसारोको हाँगाहरु हिउँको भार आँत्न नसकेर भुईमा लत्रेका थिए । मलाई त्यसले सजिलो बनाई दियो । छिटो–छिटो आँसीले काते र तुषारोको हाँगा लतार्दै दगुरे । हिउँले मेरा खुट्टा गल्न मात्र बाँकी थियो । म रुन नि सकेको थिइनँ । बाख्रालाई तुषारो हाँगा छिटो छिटो दिए । बाख्राहरु कराउँन बन्द गरे । लाग्यो अब उसको खालिपेट त्यसले दम्म पार्नेछ । म चिसोले लगलग काम्दै चुलो छेउ पुग्छु । गोठभित्र धुँवा त्यसरी नै भरिरहेकै थियो । बाहिर चिसोले निस्कनु छैन र भित्र धुँवाले बसिसक्नु छैन । मेरा खुट्टाहरु चिसोले गल्नमात्र बाँकी छन् । म आँतिदै खरानीभित्र खुट्टा हाल्छु । आगोको फिलुङ्गोले मेरो दाहिने खुट्टामा पोल्छ ऐय्या ! हत्त न पत्त खुट्टा बाहिर निकाल्छु ।
एकातिर यस्तो चिसो मौषम थियो । अर्को तिर गरिबीको कारण मेरो आफ्नो लगाउने राम्रो र न्यानो कपडा पनि थिएन । च्याटिएको पोलिष्टरको कमिज र जाँगे मात्र थियो । मैले यो कपडा दुई वर्षदेखि लगाइरहेको थिए । दुई वर्षपहिले गणे दमाई बाजेले सिलाइदेका थिए । बाले २ किलो घिउँ बेचेर ल्याइदेका थिए त्यो पोलिष्टरको कमिज र ज्याईको च्याटिएको लुङ्गीको जाँगे सिलाइदेका थिए दमाई बाजेले । चप्पल पनि फित्ता छिन्निएको एक महिना भैसक्यो ।
थाङ्नाले बाँधेर लाउँथे त्यो नि अस्ति ग्वाला जाँदा भाँचियो । अब त त्यो नि छैन । गणे दमाई हाम्रा लुगा सिलाउने दमाई हुन । हाम्रोमा लुगा सिलाएवापत उनले वर्षको ४ पाथी खलो लग्छन् । कहिले मकै त कहिले गहुँ खलोका रुपमा लैजान्छन् । हाम्रोमा दमाई बाजे जस्तै कमाउने कामी पनि छन । उनलाई पनि हामीले वर्षभरिमा आँसी, कुटो, कोदालो र बञ्चरो बनाइदेबापत दमाईलाई जसरी नै खलो दिन्छम चार पाथी ।
म सधै बिहान उठ्नेबित्तिकै बाख्रा चराउन खरबारीमा लैजाने गर्छु । त्यो मेरो दैनिकी हो । स्कूल जानुभन्दा पहिलाको नियमित काम । आज हिउँले त्यो दैनिकी त विथोल्यो तर स्कूल त जानु पर्यो । बाजे खै ? कता गए बाहिर निस्केका तर मलाई भने स्कूल जान ढिला हुन लाग्यो । म हतार हतार गरि मकैको पिठो मुच्छु रोटी बनाउनको लागि । पानी पनि सकिन लागेको रहेछ गाग्रीमा तर अहिलेलाई पुग्ने छ । बेलुकाको लागि स्कूलबाट आएर लिनु पर्ला, मनमनै सोच्छु । मकैको रोटीसँग खानको लागि लसुन र टिम्मुरको अचार कुटे । हिजो पारेको मही थियो र अलिकति दहि पनि । अढानमा तौवा बसाले रोटी पकाउनको लागि ।
अचार र रोटी तयार भयो । बाजे पनि आए निथु्रक्कै भएर काम्दै । सायद उनी पाखा गएका थिए । खरानी पानीले हात धोएर फेरि हुक्का सल्काउन चिलिम भरे र तान्न थाले गुटुटु गुटुटु । म लसुनको अचार र मकैको रोटी खान थाले । बाजेको लागि काँसाको थालमा राखिदिएँ । आज मलाई स्कूल जान पटक्कै मन छैन । तर जानुपर्छ । आज मेरो दोस्रो त्रैमासिक परिक्षाको अन्तिम दिन हो । म कक्षा ३ मा पर्थे ।
परीक्षा छोड्यो भने मास्तरले कुट्थे । सोच्थेँ, मास्तर अर्थात सुरेन्द्रप्रसाद गिरी हाम्रो स्कूलको हेडमास्तर हुन् ? हेडमास्तरको अगाडि हामी कसैको पनि शिरमाथि हुँदैन थियो । हामी सबै डराउथ्यौं । त्यसमाथि कहिले हल्लिदै आउँथे र हामीलाई त्यसै कुट्थे । हामी उनलाई देख्दा नै डरले थुरुरुरु हुन्थ्यौं । आज मनले नमान्दा नमान्दै जानुछ हेडसरको कुटाईबाट बच्नको लागि । उसो त उनको छोरी पनि म सँगै पर्थिन् तर उने पनि खुब कुटाई खान्थिन हामीले भन्दा पनि धेरै ।
आज हिउँ परेको बेलामा स्कूल लाग्छ कि लाग्दैन त्यो पनि था छैन । अव स्कूल लागे परीक्षा दिएर आउँने नत्र फर्केर आउने त्यसको अर्को विकल्प छैन म हामीसँग । स्कूल लाग्ने र नलाग्ने भन्ने स्कूल गएपछि मात्र थाहा हुन्छ । गोठबाट मेरो स्कूल दुई घण्टा लाग्थ्यो । म घरमा बस्ने भए देर घण्टामा पुग्थे तर म बाजेसँग गोठमा बस्ने हुनाले मलाई थप आधा घण्टा बढी लाग्छ । बाजेको साथमा बस्दा मलाई आनन्द लाग्छ, तर स्कूल टारा हुँदा दुःख लाग्छ ।
चामलको बोराबाट सिलाएको झोलामा कलोपाटी र खरी राखेँ । दिउँसो अर्निको लागि मकैको रोटी र कागजको टुक्रामा लसुनको अचार पोको पारेर हालेँ । बाहिर हिउँले बाटो पुरै पुरेको थियो । कहाँ खाल्दो छ र कहाँ सिस्नुको घारी छ भन्ने भान पाउन गाह्रो थियो । म दौडिदै निस्केँ खाली खुट्टै । पारी बल्ला सकमिरी भीरमा पुगे । सकमिरी भीरमा घाम राम्रो लागेको थियो । ढुड्गामा भएको हिउँ पग्लेको थियो एकछिन उभिए । चिसोले गल्न लागेका खुट्ट सेकाउनको लागि कराउँदै आछि! आछि ! भन्दै । बल्ला २० मिनेटको बाटो पार भयो ।
हाम्रो स्कूल जाने बाटो दुईवटा थियो । माथिको बाटो गइयो भने आज हिउँ परेको छ झन हिड्न गाह्रो हुन्छ । तलबाट गयो भने हिउँ अलि कम छ । हिउँ त कम छ फेरि कुकुरको डर छ तलको बाटोमा । तलको बाटोमा खल्डानामा झुमाको कुकुरले मलाई पहिले नै एक पटक टोकि सकेको छ । त्यसैले त्योबाटो हिड्न खुब डर लाग्छ । आज फेरि म माथिको बाटो गए भने चिसोले स्कूल पुग्ने सम्भावना कम छ ।
म दोधारमा परे । मनको धड्कन फुट्ला जस्तै भयो । खुट्टाहरु लुकुलुकु कामिरहेका छन् । हातका औँलाहरु सासले फुकेर तताइरहेको छु तर खुट्टा कसरी तातो बनाउने ? जे सुकै होस आज तल कै बाटो गइदिन्छु । फेरि दौडिन थाले । अर्को नौधारे खोला तरेर सिफुको खोर्रेमा पुरेर फेरि रोकिए । त्यहाँ हिउँ अलि कम थियो र घामले ढुङ्गमा भएको हिउँ पगालेको थियो । केहिछिन उभिएँ । उ त भीरगारीको घरमाथि फात्तफुत्त स्कूलेहरु देखिन थाले । अब लाग्न थाल्यो आज स्कूल चाँहि पक्कै लाग्ने भयो । मन हल्का खुशी भयो कि कम्तिमा फर्केर त नआउनु पर्ला ।
म हिडेर अलि पर पुग्ने वित्तिकै मेरो दाइने खुट्टामा मेलको काँडाले घोच्यो । आँखाबाट दरररर आँशु झर्यो । मन भक्कानिएर आयो । खुट्टामा हेरे रगत बगि रहेको थियो । नजिकैको कालोमाटो हातले कोटारे र काँडाले खोपेको ठाँउमा लगाए अनि हिडे । अब झन म दौडिन नसक्ने भए । खुट्टा खोच्याउँदै अघि हिडे । बल्ला खल्डाँडा पुगे । मन मनै भने हे भगवान आज कुकुर बाँधेको होस । मलाई टोकेपछि त्यो कुकुरलाई बाँध्न थालेका थिए । म डराई डराई अघि बढेँ । झन्न आज कुकुर बाँधेका रहेछन । करेसामा बाँधेको कुकुरले मलाई देख्ने वित्तिकै साङ्लो नै चुडाउँला जसरी भुक्यो । म डरले छिटो छिटो भागे त्यहाँबाट ।
बल्ला स्कूलको चौरमा पुगे । स्कूलको चौरमा १०÷११ जना स्कूले विद्यार्थीहरु आइपुगेका थिए । म हतार हतारमा मेरो कक्षा कोठामा पसे । आज म दुई घण्टा लाग्ने बाटो करिब सवा घण्टामा नै स्कूल आइपुगेको थिएँ । मेरो कक्षाका साथी र सरहरु पनि कोही पुगेका थिएन । म थचक्क बसेँ काठको फल्लेमा । शरीर चिसोले कामिरहेको थियो । खुट्टा दुखिरहेको थियो ।
मन थाम्न सकिनँ । कोही थिएन कोठामा अनि डाको छोडेर रोए एकछिन । बाहिर अलि हल्ला गरेको सुनेर आए । म अलि सम्हालिएँ । च्यातिएको कमिजले आँसु र सिँगान पुछे अनि बाहिर निस्किएँ म पनि । स्कूल डाँडामा छ । स्कूलको चौरमा घाम छिपिसकेको थियो तर पनि रातिको पानी र हिउँले गर्दा चौरभरि हिलो थियो ।
स्कूलको अफिस खुलेको थियो । एकै छिनमा सबैजनालाई पाले दाइले बाहिर बोलाए । हामी सबैजना स्कूलको चौरमा जम्मा भयौं ।
पाले दाईले पनि हामीलाई पढाउँथे त्यसैले हामी सबै उनलाई पनि सर भनेर सम्मान गथ्र्याैंै । पाले दाईले हामीलाई आज हिउँपरेकाले आजको परिक्षा आईतवार गर्ने निर्णय भएको भनी सुनाए । भोलि शुक्रबार र पर्सि शनिबार बिदा भयो तिमीहरु अब घरघर जाऔं । तिमीहरुको अन्तिम परीक्षा आइतबार हुन्छ । पाले दाईको यो कुराले म भित्रभित्रै फेरि रुन थालेँ ।
घर फर्किनु बाहेक मसँग कुनै विकल्प थिएन । मनमनै सोचे म तेत्रो टाढाबाट आउन सक्छु भने सरहरु यहीँ तलबाट किन नआएका ? बाहिर बोल्न सक्ने त आँत नै थिएन । मन भारी भयो । थचक्क बसेँ नजिकैको ढुंगामा ।


















प्रतिक्रिया